जरा अभियानबाट ८१ वर्षीय जैसरा दीक्षित

वीरेन्द्रनगर – वीरेन्द्रनगरकी ८१ वर्षीय बृद्धा जैसरा सुनार जरा अभियानबाट दीक्षित भएकी छन् । नेकपा (एमाले) ले संचालन गरेको ३ महिने वडा केन्द्रीत जरा अभियानबाट उनी दीक्षित भएकी हुन् ।
वीरेन्द्रनगर ११ शाखा कमिटीले आयोजना गरेको प्रशिक्षणमा स्वतःस्फूर्त सहभागी भई जैसरा सुनार दीक्षित भएको पार्टी प्रदेश कमिटीका उपसचिव पदमा खड्काले बताइन् । उनका अनुसार २०६७ सालदेखि पार्टी संगठित सदस्य रहेकी जैसराले यस्तो प्रशिक्षण पहिलो पटक लिएकी हुन् ।

दीक्षित प्रमाणपत्र बुझेपछि खुसी व्यक्त गर्दै जैसराले आफुुले सिकेको कुरा अन्य ज्येष्ठ नागरिकलाई समेत सेयर गर्ने बताइन् । जरा अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्म स्वस्फूर्त परिचालन भएको उपसचिव खड्काले बताइन् । अभियानका क्रममा जुन जुन टोलमा पुगियो त्यहाँ शुभेच्छुकहरुमा बेग्लै उत्साह भएको उनको भनाइ छ ।

‘८० नाघेका वृद्धवृद्धाहरु पनि सक्रिय रहेको देखियो । यसपटक पार्टीले वडा र टोलकेन्द्रित अभियान चलाउँदा तल्लो तहका कार्यकर्ता एवं आम जनताको मनोभावना नजिकबाट बुझ्ने अवसर मिल्यो’ उनले भनिन्, ‘यो अभियान अन्तर्गत प्रदेश र जिल्लास्तरका नेताहरु टोल टोलमा पुगेर सरकार र पार्टीप्रति फैलाइएको भ्रमहरु चिर्न तथा पार्टीको नीति तथा योजनाबारे कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् ।’