१० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा सचिवालय स्थापना

सुर्खेत – १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा सचिवालय स्थापना गरिएको छ । प्रतियोगिता मुल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गरिएको हो ।

आगामी जेठ ३ गतेदेखि कर्णाली प्रदेशमा प्रतियोगिता हुदैछ । आइतवार युवा तथा खेलकुद मन्त्री तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष तेजुलाल चौधरीले सचिवालय स्थापना भएको घोषणा गरेका हुुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका सहअध्यक्ष यामलाल कँडेलले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सचिवालय उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री चौधरीले प्रतियोगिता अब तोकिएकै मितिमा हुने भन्दै कुनैपनि बहानामा नसर्ने प्रतिवद्धता जनाए । ‘विगतमा २ पटक मिति तोकेर पनि विभिन्न प्राविधिक कारणले प्रतियोगिता हुन सकेको थिएन । अब ती समस्याहरु समाधान गर्दै जेठ ३ गतेदेखि प्रतियोगिता हुनेमा ढुक्क हुनहोस्’ उनले भने, ‘कर्णालीले उत्कृष्ट रंगशाला निर्माण गरेर खेल पर्यटनको विकास गरेकोमा धन्यवाद छ । प्रतियोगिताको सचिवालय स्थापना भएपछि प्रतियोगिता हुँदैन कि भन्ने आशंकाको पनि अन्त्य भएको छ ।’

कर्णाली प्रदेश खेलकुद परिषद सदस्य सचिवविहीन भएको हुँदा छिटो नियुक्त गर्न उनले प्रदेश सरकारलाई निर्देशन दिए । प्रतियोगिताका लागि आवश्यक पर्ने खदिर आदेशलगायतका टेण्डरहरु प्रक्रियामा गइसकेकोले अब तोकिएकै मितिमा प्रतियोगिता हुने उल्लेख गर्दै तयारीमा जुट्नसमेत आग्रह गरे ।

‘जेठमा गर्मी हुने भएपनि त्यसको उचित व्यवस्थापना गरेर प्रतियोगिता गरिनेछ । जेठमा पनि नभए यो आर्थिक वर्षमा प्रतियोगिता हुन सक्दैन’ उनले थपे, ‘अब कुनैपनि बहाना र निहुँमा प्रतियोगिता नसर्दैन । खेलाडी तथा सरोकारवाला पक्षहरु तिब्र तयारी गर्नुहोस् ।’

कर्णालीका मुख्यमन्त्री कँडेलले सचिवालय स्थापना गरिएपछि प्रतियोगिता नहुने आशंका अन्त्य भएको बताए । मूल आयोजक समितिलाई अब प्रतियोगिताको मिति नसार्न उनको आग्रह छ । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलाडी र प्रशिक्षकलाई प्रतियोगिताको तयारी गर्न आग्रह गरे ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले प्रतियोगिताले कर्णालीमा खेल पर्यटनको विकास हुने बताए । प्रतियोगिताले खेलाडीहरुको खोजी, उत्पादन र संरक्षण गर्ने भन्दै अब तोकिएको मितिमा प्रतियोगिता हुने उनको दावी गरे ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रतियोगितालाई व्यवस्थित गराउनका लागि स्थानीय तहले पूर्ण प्रयास गर्ने प्रतिवद्धता जनाइन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङका अनुसार फागुन २० गते बसेको मूल आयोजक समितिको बैठकले सुर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय गरेको थियो । अब उक्त सचिवालयबाट प्रतियोगिताका प्रशासनिक लगायत कामहरु संचालन गरिन उनले बताए ।