सुर्खेत – कर्णाली प्रदेश सभा बैठक सोमबार दिउँसो बस्दै छ । संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख यज्ञराज जोशीले दोस्रो कार्यकालको पाँचौँ अधिवेशन सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।
सोही अनुसार बैठक बस्ने भएसँगै दलहरूले आ–आफ्नो तयारी गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले आइतबार संसदीय दलको बैठक बसेर समसामयिक विषयमा छलफल गरेको छ । संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही सरकारका कामकारबाहीबारे खासै सन्तुष्ट छैनन् ।
शनिबार कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए ।
आइतबारको बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको एक सदस्यले बताए ।
यस्तै सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले संसदीय दलको बैठक अहिले बसिरहेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले मुख्यमन्त्री समेत रहेका दल नेता यामलाल कँडेलको अध्यक्षतामा बैठक बसिरहेको र उक्त बैठकमा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाहपनि उपस्थित रहेको बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०ले दलको बैठक नबसालेपछि सरकारका गलत कामकारबाहीबारे खरो रूपमा उत्रिने तयारी गरेको छ । माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार सरकारले बहुवर्षीय आयोजनाको विषयमा ठुलो कमजोरी गरेको लगायतका विषयमा रहेर प्रतिपक्षले खरो रूपमा प्रश्न उठाउने छ ।
आफू नेतृत्वमा रहेका बेला माओवादीले ल्याएका कार्यक्रमहरू वर्तमान सरकारले बेवास्ता गरेको, सरकार उल्टो बाटोमा हिँडेको निष्कर्ष प्रतिपक्षले निकालेको छ । अर्कोतर्फ प्रदेश सभा कानुन निर्माणका सन्दर्भमा कमजोर रहेको, संसदीय समितिहरू नेतृत्वविहीन अवस्थामा रहेको लगायतका विषयमा आजको संसदमा छलफल हुने देखिन्छ ।
हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख यशोदा न्यौपानेले सञ्चालन गर्ने बताइएको छ । सभामुख नन्दा गुरुङकी सास आमाको शनिबार निधन भएकाले उनको उपस्थिति नरहने अवस्थामा बैठक उपसभामुखले सञ्चालन गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले कुनै कारण सभामुखको उपस्थिति नरहने अवस्थामा उपसभामुखले बैठक सञ्चालन गर्ने विषय संशोधित प्रदेश सभा नियमावली ०८१मा प्रस्ट रूपमा राखिएको बताए।
उनका अनुसार बैठकको विषयमा ११ बजे कार्य व्यवस्था समितिको बैठक बस्दै छ भने अहिलेसम्म दलका नेताहरूले धारणा राख्ने कार्यतालिका तय भएको छ ।