यू–१९ महिला विश्वकप : नेपाल बंगलादेशविरुद्ध पहिले ब्याटिङमा

काठमाडौँ – नेपालको यू–१९ महिला टोलीले यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

मलेसियामा सुरु भएको खेलमा नेपालले बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्नु परेको हो।

विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो। त्यसपछि मलेसिया पुगेर अभ्यास खेलेको नेपालले विश्वकप खेल्न लागेको हो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। सुपर–६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ।

प्रत्येक समूहबाट समान तीनरतीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्।

दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।

विश्वकप खेल्ने नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान)  सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।