प्रदेश अस्पतालको बहाना : जनशक्ति छैन भन्दै मृगौला प्रत्यारोपण सेवा ठप्प

  • ४ जनाको मृगौला प्रत्यारोपणपछि अस्पतालले सेवालाई निरन्तरता दिन सकेन
  • बहाना बनाएर अस्पतालको उम्किने प्रयास
  • आर्थिक भारको मारमा बिरामी

सुर्खेत –  कर्णाली प्रदेश अस्पताल सुर्खेतले मृगौला प्रत्यारोपण सेवालाई निरन्तरता दिन सकेको छैन । २१ माघ २०७९ मा शुभारम्भ भएको मृगौला प्रत्यारोपण सेवा हाल बन्द अवस्थामा छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबिच १० चैत्र २०७८ मा सेवा सुचारु गर्ने सम्झौता भएको थियो । मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा मृगौला प्रत्यारोपण गर्ने लक्ष्यसहित प्रत्यारोपण केन्द्रले प्रदेश अस्पताल सुर्खेतसँग सेवा सुचारु गर्ने सम्झौता गरेको हो । तर सम्झौता अनुसार सेवा कार्यान्वयनमा भने प्रदेश अस्पताल आफै उदासिन देखिएको छ ।

मृगौला प्रत्यारोपण सेवालाई निरन्तरता दिन आवश्यक जनशक्ति र बजेट नभएको भन्दै प्रदेश अस्पतालले उम्किने बहाना बनाइरहेको छ । जसले गर्दा सुर्खेतमै मृगौला प्रत्यारोपण गर्न चाहाने बिरामी काठमाडौं धाउनुपर्दा आर्थिक भारको मारमा परेका छन् ।

४ जनाको मृगौला प्रत्यारोपणपछि २८ माघ २०८० यता प्रदेश अस्पतालमा यो सेवा ठप्प छ । सेवा ठप्प हुदाँ प्रदेश अस्पताल पुगेका बिरामीहरु मृगौला प्रत्यारोपणका लागि हाल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा धाइरहेका छन् । हाल सुर्खेतका ३ जना बिरामी राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागि पालो कुरेर बसिरहेका छन् ।

‘सुर्खेतमै मृगौला प्रत्यारोपण गर्न पाएको भए आर्थिक भार कम हुने थियो । काठमाडौं आउदाँ जादाँ लाखौं खर्च हुन्छ’ राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पालो कुरेर बसेका एक बिरामीले भने, ‘घरको आर्थिक अवस्था कमजोर छ, उपचारमै सबै सम्पती सकिन लाग्यो । यो सेवा सुर्खेतमै भए बाँचे पनि मरेपनि घरनजिकै सजिलो हुने थियो ।’

उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । तर सबै मृगौला रोगका बिरामीको पीडा उस्तै छ । र चाहाना पनि एउटै छ । जो प्रदेश अस्पताल सुर्खेतमै मृगौला प्रत्यारोपण गर्न पाइयोस् भन्ने । सुर्खेतबाट जटिल खालको मानव अङ्ग प्रत्यारोपण सेवा सुरु भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार घट्ने अपेक्षा राखेका थिए । तर सेवा ठप्प भएपछि मृर्गौला रोगका बिरामीमा निराशा छाएको छ ।

कर्णालीवासी तथा यहाँका सरोकारवालाले पनि प्रदेश अस्पतालमै यो सेवालाई निरन्तरता दिन जोड दिएका छन् । मृगौला प्रत्यारोपण प्रक्रियमा ढिलाईसँगै झन्झटिलो प्रक्रिया र राष्ट्रिय प्रत्यारोपण केन्द्रको ढिलाईले सेवा नियमित हुन नसकेको प्रदेश अस्पतालले जनाएको छ । तर आफ्नो तर्फबाट कुनै समस्या नरहेको भन्दै सेवा सुचारुबारे उल्टै प्रदेश अस्पतालसँग निरन्तर समन्वय भइरहेको प्रत्यारोपण केन्द्रको दावी छ ।

प्रदेश अस्पतालमा पहिलो पटक २१ माघमा नवलपरासी बर्दघाट नगरपालिकाका २२ वर्षीया युवकको मृगौला प्रत्यारोपण गरिएको थियो । उनलाई त्यहीबाट ल्याएर मृगौला प्रत्यारोपण पश्चात पाँच दिनमा डिस्चार्ज गरिएको थियो । अस्पतालमा हालसम्म २ पटकमा ४ जनाको मृगौला प्रत्यारोपण गरिएको हो ।

अन्तिम तथा दोस्रो पटक २८ माघ २०८० मा रोल्पाको रोल्पा नगरपालिकाका ३५ वर्षीय युवकमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण गर्न प्रदेश अस्पतालले ७ लाख रुपैयाँ र प्रत्यारोपण गर्ने व्यक्तिले डेढलाख रुपैयाँ बेर्होर्ने सहमतिका आधारमा सेवा प्रारम्भ भएको थियो ।

यस्तो थियो सम्झौता

१० चैत्र २०७८ मा भएको सम्झौता पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका तत्कालिन निर्देशक डा. डम्बर खड्काले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार प्रदेश अस्पताल अन्तर्गतका अस्पतालमा डायलोसिस सेवा विस्तार गरी मृगौला प्रत्यारोपण गर्ने सहमति भएकोे छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा प्रदेश अस्पतालको जनशक्तिलाई सिप हस्तान्तरण गरेर उच्च प्रविधि र दक्ष जनशक्तिबाट उत्कृष्ट सेवा दिने दावी गरिएको थियो । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको मृगौला विरामीहरुको चाँपलाई ध्यानमा राखि मृगौला प्रत्यारोपण देशभर विस्तार गर्ने लक्ष्यका साथ पश्चिम नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुचारु गरिएको उल्लेख छ ।

नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अनुसार अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने सम्झौता भएको थियो ।

सेवा सुभारम्भ गर्दा प्रदेश अस्पतालमा राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट केही चिकित्सकहरुको टीमले महिनाको दुई पटक मृगौला प्रत्यारोपण सेवा दिने सम्झौता भएको थियो ।

अस्पताल उम्कन खोज्दै

प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवाका लागि प्रयाप्त उपकरण तथा भौतिक संरचना हुदाँहुदै कहिले जनशक्ति त कहिले बजेट अभाव छ भन्दै अस्पताल उम्कने गरिरहेको छ । तर अस्पतालले चाहेमा सेवा नियमितता गर्न कुनै समस्या छैन ।

मृगौला प्रत्यारोपण सेवा प्रदान गर्न अस्पताल आफै व्यवस्थित नहुदाँसम्म सहयोग गर्ने राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ । अस्पतालले आफ्नो जिम्मेवारी पुरा गरेर राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग समन्वय गरेमा सुर्खेतमै मृगौला प्रत्यारोपण सेवा नियमित हुने निश्चित छ ।

यसबारे अस्पताललाई उल्टै तयारी के छ ? भनेर पटक पटक सोध्ने गरेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलले बताए । ‘अस्पतालले मृगौला प्रत्यारोपणका लागि सबै तयारी गरेर हामीलाई खबर गरे जतिबेला पनि हाम्रो टिम आउन तयार छ’ उनले भने, ‘भौतिक संरचनापनि केन्द्रमा भन्दा सुर्खेतमै राम्रो छ, त्यहीबाट सेवा दिए कर्णालीका बिरामीलाई काठमाडौं धाउनुपर्ने पीडा हट्छ ।’

प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा दिनसक्ने जनशक्ति उत्पादनका लागि केन्द्र तयार रहेको उनले बताए । उनका अनुसार प्रदेश अस्पतालका एक सर्जन डाक्टर अब तालिम लिने तयारीमा छन् । प्रदेश अस्पतालमा युरोलोष्टि डाक्टर छैनन् । मृगौला प्रत्यारोपण सेवा नियमितताका लागि प्रदेश अस्पतालका फिजिसियन डाक्टरलाई १ वर्ष फेलोसिपमा अध्ययनका लागि केन्द्रले २ पटक सूचना आह्वान गरेपनि डाक्टर नै इच्छुक देखिएका छैनन् ।

सेवा सुचारु गर्ने तरखर

हाल ठप्प रहेको मृगौला प्रत्यारोपण सेवा प्रदेश अस्पतालमा फेरी सुचारु गर्ने तरखर सुरु भएको छ । लामो समय सेलाएको प्रदेश अस्पतालले फेरी नियमित मृगौला प्रत्यारोपण सेवा सुचारु गर्ने तयारी भइरहेको जनाएको छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग समन्वय गरेर आगामी माघ महिनादेखि सेवा सुचारु गर्ने तयारी भइरहेको अस्पतालमा सूचना अधिकारी विनोद बस्नेतले बताए । उनले भने, ‘मृगौला प्रत्यारोपण गर्ने दक्ष जनशक्ति नहुदाँ सेवा प्रभावित भएको हो । अब चाँडै सेवा सञ्चालनमा ल्याउने गरी पहल भइरहेको छ ।’

प्रदेश अस्पताल कर्णाली सरकारको सामाजिक विकास मन्त्रालय मातहतको निकाय हो । तर मन्त्रालयले नै अस्पतालको जनशक्ति व्यवस्थापनमा ध्यान दिएको छैन । ‘मृगौला प्रत्यारोपण सेवा दिने दक्ष जनशक्ति नेपालमै अभाव छ, कर्णालीमा नहुनु नयाँ कुरा हैन’ सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने, ‘तरपनि जनशक्ति व्यवस्थापन गरी यो सेवा सुरु गर्न जरुरी छ । यसमा मन्त्रालयले गर्ने सहयोग जारी छ ।’ प्रदेश सरकारले बजेट र जनशक्ति व्यवस्थापनमा जोड दिनसके नियमित सेवा प्रवाहमा सहज हुने देखिन्छ ।

  • आजको मिसन टुडे दैनिकमा प्रकाशित यो समाचार नन्दराम जैशीले लेखेका हुन् ।