काठमाडौं -राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार सचिव वेद भट्टराईले विज्ञप्ति निकालेर आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
त्यस्तै आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।
चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी भदौ २९ गते जुम्लामा आमरण अनशन सुरु गरेका थिए । हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।
केसीको अवस्थाबारे कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ ।
केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघलगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेको पनि आयोगले जनाएको छ ।(अनलाइनखबर)