कर्णाली याक्सले कात्तिक ३० मा ‘ट्यालेन्ट हन्ट’ गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आउँदो शुक्रबार युवा तथा प्रतिभावन खेलाडीका लागि ‘ट्यालेन्ट हन्ट गर्ने भएको छ ।

कर्णालीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले कर्णालीका प्रतिभावान खेलाडी छनोट गर्नेछन् । ‘कर्णाली याक्सले शुक्रबार प्रतिभावान खेलाडी छनोट गर्दैछ,’ प्रशिक्षक मल्लले भने, ‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौं ।’

‘ट्यालेन्ट हन्ट’ कार्यक्रम वीरेन्द्रनगरको कर्णाली रंगशालामा हुने कर्णाली याक्सले जनाएको छ ।हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य सोमपाल कामी छन् । यस्तै राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल कर्णालीको मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टरको भूमिकामा छन् ।

कर्णाली चार विदेशी मध्ये तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ र छिटै अर्को विदेशी खेलाडी पनि अनुबन्ध गर्ने जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।