५ पटकको उपविजेता नेपाललाई साफमा इतिहास रच्ने अवसर

काठमाडौँ – भनिन्छ, १२ वर्षमा खोला पनि फर्कन्छ। नेपाली राष्ट्रिय महिला टोलीका लागि यो संयोग घरेलु मैदानमा नै जुरेको छ।

महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको छ। त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।

अघिल्ला ११ फाइनलमा उपविजेतामा मात्रै सिमित भएको नेपाली महिला टोली हरेकपटक उपाधिको दाबेदार टोली मानिन्थ्यो। तर फाइनलमा भने नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन।

तर आज (बुधबार) बंगलादेशविरुद्ध नेपाली टोली मैदान उत्रदा ति सबै विगतलाई बिर्सेर नयाँ इतिहास लेख्न चाहन्छ।

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।

साफको सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै छैटौँ पटक फाइनलमा स्थान बनाएको हो। उता बंगलादेशले भने भुटानमाथि ७–१ को फराकिलो जित दर्ता गर्दै तेस्रोपटक उपाधि नजिक पुगेको हो।

साफको सेमिफाइनल र फाइनलमा अघिल्लो संस्करणको इतिहास नै दोहोरिएको छ। तर नेपाली टोली भने यो पटक साफको फाइनलमा अघिल्लो चरणको नतिजालाई बिर्सेर नयाँ सुरुवात गर्न चाहन्छ। बंगलादेश भने अघिल्लो संस्करणको नतिजा नै दोहोराउने योजनामा हुनेछ।

अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो। दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो।

फाइनलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका मुख्य प्रशिक्षकले आजको खेलमा मैदानमा जसको म्यानेज राम्रो छ उपाधि उसले नै जित्ने बताएका छन्। मैदानमा टिम म्यानेजबिना कुनै पनि टोलीले राम्रो खेले पनि नतिजा ल्याउन नसक्ने बताएका छन्।