स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेका छौं : मन्त्री घनश्याम भण्डारी

सुर्खेत – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जिम्मेवारी सम्हालेको दुई महिना पुग्यो । कर्णालीको वर्तमान मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुमध्ये काम गर्नेमा आशा गरिएका मन्त्रीमध्येमा भण्डारी पर्छन् ।

तर उनका सामु अनेक चुनौतिकाबिच काम गर्नैपर्ने बाधयता पनि छन् । जसमध्ये एक महत्वपूर्ण स्वास्थ्य क्षेत्र हो । मंगलबार मन्त्रालयमै आयोजना गरिएको पत्रकार भेटघाट तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले परिणाम देखिने गरी स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको बताए ।

सोही अवसरमा स्वास्थ्य सम्वृद्धिको वर्तमान अवस्था तथा स्वास्थ्य नीति र दीर्घकालिन लक्ष्यको बिषयमा अन्र्तक्रिया गर्दै मन्त्री भण्डारीले दिगो विकास लक्ष्य अनुसार कर्णालीको स्वास्थ्य क्षेत्र सुधारमा मनत्रालय लागि परेको अवगत गराए ।

स्वास्थ्य क्षेत्रको विस्तार र सेवा प्रभावकारी बनाउन सुधारका लागि केही कामहरुको सुरुवात गरिसकेको भन्दै बाहिरबाट देख्दा र आफैंले जिम्मेवारी लिएपछि काम गर्नमा फरक चुनौति रहेको स्पष्ट पारे । ‘कर्णालीमा हामीकहाँ जनशक्ति, उपकरण र पूर्वाधार कुनै पनि पूर्ण छैन । तरपनि प्रभावकारी सेवा दिनुपर्ने बाध्यता छ । सबै कुरामा तत्काल पूर्ण बनाउने बजेटको स्थिति पनि छैन’ उनले भने, ‘त्यसैले अनेक सीमितताका बीच प्रभावकारी स्वास्थ्य सेवा दिने अवस्था निर्माण गर्न लागिपरेका छौं । हाल स्वास्थ्यमा जनशक्ति एकदमै सीमित छ । यही संख्याबाट विदेशिने क्रम पनि बढेको अवस्था छ ।’

अस्पतालहरुको तह विभिन्न सेवा प्रवाह गर्ने गरी निर्धारण गरिएको छ । तर अभ्यासमा भने एउटै खालको सेवा दिने गरी अस्पतालहरुको विकास भएको छ । प्रदेश अस्पतालको सन्दर्भमा डा. भगवान कोईरालाको संयोजकत्वमा कार्यदल बनेको भन्दै कार्यदलको रिपोर्टका आधारमा अघि बढ्ने मन्त्री भण्डारीले बताए ।

यस्तै कर्णालीमा आयुर्वेदिक ओैषधि उत्पादन भईरहेको अवगत गराउँदै अन्य औषधि पनि यहि उत्पादनका लागि अनुसन्धान भईरहेको उनको भनाइ छ । दशौं राष्टिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा संचालन गर्न प्रदेश सरकार तयार रहेपनि पूर्वाधारका कारण हुन नसक्ने उनको तर्क थियो ।

‘यता शिक्षा क्षेत्रमा पनि पूर्वाधार विकाससहित सुधारका कार्यक्रम जारी छन् । हाल कर्णालीमा ५८ सामुदायिक क्याम्पस छन् । तर जहाँ जहाँ सरकारी क्याम्पस छन्, ति सबै क्याम्पस समस्यामा छन्’ उनले थपे, ‘गाउँमा क्यामपस छन्, तचर विद्यार्थी विदेशमा छन् । यता निर्माण भएका अधिकांश क्याम्पस रित्तै छन् । यसबारे के कसरी अघि बढ्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको छ ।’

मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले मन्त्रालयको अधिकार क्षेत्रमा पर्ने हरेक काममा सुधार ल्याउने प्रयास भइरहेको बताए । संघ सरकारबाट कर्णाली सरकारलाई न्यन बजेट उपलब्ध हुने गरेको भन्दै भौगोलिक अवस्थाको आधारमा बजेट पठाउनुुपर्ने उनको भनाइ छ ।

प्रदेश अस्पतालको सुत्केरी मृत्यु सन्दर्भमा प्रेस नोट समेत जारी नभएकोबारे अस्पताललाई ध्यानाकर्षण गराउने उनले बताए ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृष बहादुर शाहीले हाल स्वास्थ क्षेत्रमा प्रर्वद्धनका कार्यक्रम जारी रहेको अवगत गराउँदै यस्ता कार्यक्रमले जोखिम घट्ने बताए । कर्णालीका सबै स्वास्थ्य संस्थाबाट हुने सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भौतिक संरचना निर्माणदेखि दक्षजनशक्ति व्यवस्थापनमा मन्त्रालयको ध्यान गएको उनले उल्लेख गरे ।

यता स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा.रविन खड्काले स्वास्थ्य क्षेत्रमा बनेका नीति कार्यान्वयनको पक्ष बलियो बनाउन सके स्वास्थ्य क्षेत्र सुधार हुने बताए । हाल स्वास्थ क्षेत्रमा जनशक्ति अभाव रहेको अवगत गराउँदै व्यवस्थापनमा जोड दिनुपर्ने उनको भनाइ छ । साथै दशैंको अवसरमा खानपान र स्वस्थ जिवनशैलिमा ध्यान दिन उनको सुझाव छ ।

कार्यक्रममा शुभकामना आदानप्रदान सहित सामाजिक विकास मन्त्रालयले गर्ने र गरिरहेका कामका बारेमा अन्र्तक्रिया गरिएको थियो । भने मनत्री भण्डारीले आफुले दुइ महिनामा गरेको काम र आगामी कामका बारेमा पनि जानकारी दिएका थिए ।