कर्णालीमा धमाधम बन्द हुदै साना उद्योग

सुर्खेत – पछिल्लो समय कर्णालीमा धमाधम साना तथा लघु उद्योगहरु बन्द हुन थालेका छन् । पछिल्ला दुई आर्थिक वर्षको तुलनामा कर्णाली प्रदेशभर नयाँ उद्योग दर्ता र नविकरणको सट्टा धमाधम बन्द हुन थालेका हुन् ।

नयाँ साना तथा लघु उद्योग दर्ता र नविकरणको संख्या घटेसँगै उद्योग खारेजीक्रम बढेको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकले कर्णालीका १० वटै जिल्लामा दर्ता र नविकरणको तुलनामा उद्योग खारेजी हुने दर बढ्दो क्रममा छ । जसमा साना तथा लघु उद्योगहरु बढि रहेको निर्देशनालयका सूचना अधिकारी थिरबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा मात्रै वार्षिक उद्योग दर्ता र नविकरणको अवस्था बढ्दोक्रममा छ । तर उद्योग खारेजी हुनेक्रम पनि रोकिएको छैन । अन्य नौ जिल्लामा भने उद्योग नविकरण घट्दो अवस्थामा रहदा खारेजी बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा सुर्खेत जिल्लामा सात सय ७४ उद्योग नविकरण हुँदा ९९ वटा खारेज भएका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाभर उद्योग नविकरण बढेर नौ सय २१ पुग्दा एक सय ६६ उद्योग खारेज भएका छन् ।

यस्तै जुम्ला जिल्लामा पनि उद्योग नविकरण र खारेजी क्रम बराबर छ । जुम्लामा अघिल्लो वर्ष तीन सय ३२ उद्योग नविकरण हुँदा ३३ वटा खारेज भएका थिए । गत वर्ष यो संख्यामा ह्रास आई दुई सय ३७ उद्योग नविकरण भएका छन् । भने ८१ वटा खारेजीमा परेका छन् ।

दैलेखमा आर्थिक वर्ष २०७९/०८० मा चार सय ३८ वटा उद्योग पुनः नविकरण भएका थिए भने ३४ वटा खारेजीमा परेका थिए । तर गत आर्थिक वर्ष २०८०/०८१ मा यो ह्वात्तै घटेर एक सय ५६ मा झरेको छ । गत वर्ष दैलेखमा २८ उद्योग खारेज भएका छन् ।

आर्थिक वर्ष २०७९/०८० को तथ्यांक अनुसार हुम्ला जिल्लामा तीन सय २८ उद्योग नविकरण भएका थिए भने २८ खारेजीमा परेका थिए । गत वर्षसम्म आइपुग्दा हुम्ला जिल्लामा उद्योग नविकरण तेब्बरले घटेको छ । यस वर्ष हुम्लामा ८७ वटा उद्योग नविकरण हुँदा सात उद्योग खारेजमा परेका छन् ।

सल्यान जिल्लामा भने नविकरण हुने उद्योगको संख्यामा बृद्धि भएको छ । अघिल्लो वर्ष सल्यानमा एक सय उद्योग नविकरण हुँदा २२ वटा खारेज भएका थिए । सल्यानमा गत उद्योग नविकरण बढेर दुई सय ३६ मा पुगेको छ भने ३५ उद्योग खारेजीमा परेका छन् ।

रुकुम पश्चिममा पुनः उद्योग नविकरण तेब्बरले घटेको छ । आर्थिक वर्ष २०७९/०८० मा सल्यान जिल्लामा चार सय ३८ उद्योग नविकरण भएका थिए । यस वर्ष ३३ यद्योग खारेज भएका थिए । तर गत वर्ष भने रुकुम पश्चिममा उद्योग नविकरण ७४ मा झरेको छ । २२ उद्योग खारेज भएका छन् । जाजरकोटमा पनि उद्योग नविकरणको अवस्था सन्तोषजनक छैन ।

आर्थिक वर्ष २०७९/०८० मा जाजरकोट जिल्लामा कुल दुई सय ६८ वटा उद्योग नविकरण भएका थिए । यस वर्ष ३४ वटा उद्योग खारेज भएका थिए । गत वर्षसम्म आइपुग्दा जाजरकोटमा पनि झण्डै तेब्बरले उद्योग नविकरणमा कमि आएको छ । यस वर्ष ८३ वटा मात्रै उद्योग नविकरण हुँदा २८ वटा उद्योग खारेजीमा परेका छन् ।

त्यस्तै मुगुमा पनि उद्योग नविकरण ठुलो संख्यामा घटेको छ । आर्थिक वर्ष २०७९/०८० को तथ्यांक अनुसार मुगु जिल्लामा तीन सय ४२ उद्योग नविकरण हुँदा गत वर्ष ह्वात्तै घटेर ५१ मा झरेको छ । अघिल्ला वर्ष ३० र गत वर्ष ५१ वटा उद्योगहरु खारेजीमा परेका छन् । कालिकोट र डोल्पामा पनि यद्योग नविकरण घट्दो अवस्थामा छ भने खारेजी बढिरहेको छ । यि दुई जिल्लामा आर्थिक वर्ष २०७०÷०८० मा क्रमश एक सय ९३ र तीन सय २८ उद्योगहरु नविकरण भएका थिए ।

यहीँ अवधिमा कालिकोटमा ३३ र डोल्पामा २३ उद्योग खारेज भएका थिए । गत आर्थिक वर्षमा आएर यी दुई जिल्लामा ठुलो संख्यामा उद्योगहरु नविकरण भएका छैनन् । गत वर्ष कालिकोटमा एक सय ३१ र डोल्पामा ७९ वटा मात्र उद्योग पुनः वार्षिक नविकरण भएका छन् भने कालिकोटमा ३७ वटा उद्योग खारेज भएका छन् । यस वर्ष मुगुमा कुनै पनि उद्योग खारेजीमा नपरेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

नियमावली नहुदाँ समस्या

प्रदेश व्यापार–व्यवसाय (दर्ता तथा सञ्चालन) नियमावली नहुनु नै कर्णालीमा उद्योग नविकरण घट्नुको मुख्य कारण रहेको निर्देशनालयका सूचना अधिकारी थिरबहादुर श्रेष्ठ बताउनुहुन्छ । लामो समसम्म नियमावली नहुँदा उद्योग नविकरणमा कमि आएको उहाँले बताउनुभयो ।

तर प्रदेश सरकारले गत फागुनमा प्रदेश व्यापार–व्यवसाय (दर्ता तथा सञ्चालन) (पहिलो संसोधन) नियमावली–२०८० लागु गरेपछि उद्योग नविकरणमा रहेको कानुनी अल्झनको अब अन्त्य भएको उहाँ बताउनुहुन्छ ।

यसअघिको नियमावलीमा नवकिरण शुल्क लगायतका विषयलाई लिएर उद्योगीहरुले उद्योग नविकरण नगर्दा संख्या कम देखिएको निर्देशनालयले जनाएको छ । नयाँ नियमावली लागु भएसँगै उद्योग नविकरणको संख्या बिस्तारै बढ्दै जाने अपेक्षा गरिएको छ ।

पछिल्लो समय कोभिड–१९ लगायतका कारणले उत्पन्न आर्थिक संकटका कारण साना उद्योगहरु बन्द भएको हुनसक्ने सूचना अधिकारी क्षेष्ठ बताउनुहुन्छ । खारेज भएका अधिकांश कृषि तथा पशुपालनमा आधारित उद्योगहरु रहेको उहाँको भनाइ छ ।

कर्णालीमा आर्थिक वर्ष २०७९/०८० मा प्रदेशभर तीन हजार आठ सय ४० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्ष २०८०/०८१ म झण्डै तेब्बरले घटेर एक हजार चार सय ९५ वटा मात्रै नयाँ उद्योग दर्ता भएको निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा प्रदेशभर तीन हजार पाँच सय ८३ वटा उद्योगहरु नविकरण भएका थिए । गत आर्थिक वर्षमा यो संख्या घटेर दुई हजार ५५ मा झरेको छ । आर्थिक वर्ष २०७९/०८० मा उद्योग खारेजीको संख्या तीन सय ६९ थियो गत वर्ष यो संख्या बढेर चार सय १० मा पुगेको छ ।