मंसिरमा दशौँ राष्ट्रिय खेलकुद नहुने निश्चित, मिति सार्ने तयारी

सुर्खेत – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब ५१ दिन मात्रै बाँकी छ । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने तयारी थियो ।

तर मंसिर महिनामा भने अब दशौँ राष्ट्रिय खेलकुद नहुने निश्चित भएको छ । कर्णाली प्रदेश सरकारको रिपोटिङका आधारमा संघीय सरकारले पूर्वाधारलाई कारण देखाउँदै प्रतियोगिताको मिति नै सार्ने तयारी गरेको छ । तर पूर्वाधार निर्माण र व्यवस्थापनलाई औंल्याएर प्रतियोगिताको मिति सार्न नहुने कर्णाली प्रदेश खेलकुद विकास परिषद्को दावी छ ।

यता प्रतियोगिता आउन ५१ दिन मात्रै बाँकी हुँदासमेत पूर्वाधार निर्माण र व्यवस्थापनको काम भने सकिएको छैन । अब चाडबाडको समय सुरु भएकाले निर्माण र व्यवस्थापनको काम प्रभावित हुने देखिन्छ । जसले गर्दा पनि प्रतियोगिता तोकिएको समयमा हुने÷नहुने अन्योल कायमै छ ।

दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएको थियो । प्रतियोगिता गर्ने जिम्मा लिएसँगै प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण कम्पनीले म्याद थप गर्दा पनि तोकिएको समयमा रंगशाला निर्माणको काम सम्पन्न नभएपछि प्रतियोगितालाई थप असर परेको हो । खेलकुद विकास परिषद्का अनुसार २०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको थियो । यो समय पनि सकिएको छ । तर असोज महिनाभित्रै निर्माणको काम सम्पन्न हुने देखिन्छ ।

२०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी लिएको थियो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि कोरोना माहामारीका कारण लकडाउन लगाएतका कारणले समयमै काम सम्पन्न गर्न चुनौति थियो ।

तोकिएको समयमा काम सम्पन्न नभएपछि थप म्यादभित्र कामसक्न निर्माण कम्पनीलाई ताकेता गरिएको थियो । तर थप म्यादमा पनि काम सम्पन्न नगरेपछि अब निर्माण कम्पनीले काम सम्पन्न गरुन्जेल प्रतिदिन ८ लाखका दरले सरकारलाई पेनाल्टी रकम तिर्नुपर्नेछ ।

सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख जवाहरलाल हमालका अनुसार निर्माण कम्पनीले पेनाल्टी रकम तिर्नुपर्ने भएकाले पनि अब छिट्टै काम सम्पन्न हुनेछ । ‘रंगशाला त बन्ला तर जिल्लाहरुमा बनिरहेका खेल पूर्वाधार अधुरै छन् । बजेट अभाव छ’ उनले भने, ‘अधुरा योजना सम्पन्न गर्न प्रदेश र संघ दुबै सरकारले बजेट उपलब्ध गराएका छैनन् । अब एउटा सरकारले त बजेट दिनैपर्छ ।’

संघीय सरकारले प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेटसमेत छ्ट्याएको छ । तर संघको यो बजेट प्रदेशले खर्च गर्ने कानुनी प्रावधान समयमै नबन्दा एकातिर पूर्वाधार निर्माणका काम अधरै छन्, भने अर्कोतिर ६० करोड बजेट थन्किएको छ ।

हालसम्म प्रदेश रंगशालाको ९५ प्रतिशत काम सकिएको छ । यो रंगशालामा १० हजार दर्शक अट्ने छन् । यही रंगशालामा अन्तर्राष्ट्रिय स्तरको भलिबल, स्वीमिङ पुल, फुटबल, ह्यान्डबल, बास्केट बल र एथलेटिक्सलगायतका प्रतियोगिता सञ्चालन गर्नेगरी भौतिक संरचना बनेका छन् । हालसम्म १ अर्ब ५० करोड बढि रकमको काम सम्पन्न भइसकेको परिषद्ले जनाएको छ ।

मंसिरमै प्रतियोगिता गर्न सकिन्छ : सञ्याल

पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद्ले गरेको छ । परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरेपनि समयमै नहुने हो कि भन्ने आशंका उब्जिएको हो ।

सरकारले चाहेमा निर्धारित समय मंसिरमै प्रतियोगिता गर्न सकिने परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले बताए । तोकिएको समयमै दशौँ राष्ट्रिय खेलकुद गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको उनको जिकिर छ ।

‘कर्णाली प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको पाटो हो । त्यसमा हामी सक्षम छौं, केहिदिनभित्रै रंगशालाको काम पनि सकिदैछ’ सञ्ज्यालले भने, ‘अँझै तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, हामी यसमा प्रतिवद्ध छौं । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था भने छैन ।’

उनका अनुसार प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन् । प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ । भौतिक संरचना पनि तीव्रगतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रंगशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् ।

परिषद्का अनुसार खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इण्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्र्याकमा सिन्थेटिक लाग्न र एउटा इण्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका लागि हामीसँग खेलाडी पनि छन् ।

हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इण्डोर हल, कालीकोटमा कभर्डहल छ । रुकुमपश्चिममा पनि हल छ । सल्यानमा टेबलटेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आमकर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ ।
आवास व्यवस्थापनमा समस्या छैन : अध्यक्ष शाही

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णालीमा आवासको व्यवस्थापन छैन भन्ने हल्ला गलत भएको कर्णाली प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष तर्कबहादुर शाहीले बताए । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केहि दिन अघिमात्र कर्णाली प्रदेशमा तोकिएको मितिमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगियता गर्न आवासको समस्या भएको अभिव्यक्ति दिएका थिए ।

मन्त्री चौधरीले दिएको उक्त अभिव्यक्ति प्रति कर्णाली प्रदेश होटल व्यवसायी महासंघले कुनै सत्यता नभएको बताएको छ । मन्त्री चौधरीको अभिव्यक्तिलाई खण्डन गर्दै होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष शाहीले कर्णाली प्रदेशमा अहिले पनि १० देखि १२ हजार जना व्यवस्थापन गर्न सकिने क्षमता रहेको स्पष्ट पारे ।

‘मन्त्रीज्यूले कुन आधारमा आवासको समस्या छ भन्नु भयो हामिलाई थाहा छैन । कर्णालीमा आवासको समस्या छ भन्नु भन्दा पहिला कर्णाली प्रदेश होटल व्यवसायी महासंघसँग होटलको आधिकारिक डेटा लिएर बोलेको भए राम्रो हुँने थियो’ अध्यक्ष शाहीले भने ‘अहिले भएको होटलहरु सुधार उन्मुख तिर रहेका छन् । बाँकी हामी आफ्नो तयारीलाई पनि मजबुत बनासकेका छौ ।’

अध्यक्ष शाहीका अनुसार राष्ट्रिय खेलकुदका लागि होटल व्यवसायी संघले तयारी गरेको भन्दा बढिनै पाहुँनाहरु आए पनि समस्याको सामाधन सहजै गर्न सकिने बताइएको छ । जसका लागि प्रतियोगिता आसपासमा हुँने एनजिओ, आइएनजिओ र सरकारी कार्यालयका कार्यक्रमहरु त्यो समयमा नगरेर सार्न सकियो भने पनि धेरै आवासको समस्या साधान हुनेछ । वीरेन्द्रनगरसँगै छिन्चु, गुराँसे लगाएतका स्थानमा पनि आवास व्यवस्थापन गर्न सकिने अवस्था छ ।

पूर्वनिर्धारित मितिमा प्रतियोगिता हुदैन : मन्त्री चौधरी

दशौँ राष्ट्रिय खेलकुद पूर्वनिर्धारित मितिमा नहुने संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् । आगामी मंसिरमा प्रतियोगिता नहुने निश्चित भएको भन्दै फागुनमा सार्नुपर्ने उनको तर्क छ ।

बुधबार सप्तरीको राजविराज पुगेर मन्त्री चौधरीले पूर्वाधारको कारण देखाउँदै दशौँ राष्ट्रिय खेलकुद पूर्वनिर्धारित मितिमा हुन नसक्ने प्रष्ट पारे । ‘प्रतियोगिता आगामी फागुन महिनासम्म हुन सक्छ । कर्णालीमा मंसिर पूर्वाधार नै बनेका छैनन् । पुस र माघ महिनामा अत्यधिक जाडो हुन्छ’ उनले भने, ‘त्यसैले अब प्रतियोगिता फागुन महिनामा गर्ने मन्त्रालयले योजना बनाएको छ । अहिलेकै अवस्थामा प्रतियोगिता हुने स्थिती छैन ।’

संघीय सरकारले प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेटसमेत दिएको छ । तर पूर्वाधारलाई कारण देखाउँदै मन्त्रीले नै प्रतियोगिता सार्न खोजेका छन् । हाल पूर्वाधार निर्माण गर्ने क्रम चलिरहेकाले प्रतियोगिता फागुनमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

कर्णालीको पछिल्लो स्थलगत भ्रमणका क्रममा तयारी पारेको प्रतिवेदनका आधारमा निर्णय गरिने मन्त्री चौधरीले बताए । एक महिनाअघि खेलकुद मन्त्री चौधरी सुर्खेत पुगेर रंगशाला निर्माणको अवस्थालाई निरीक्षण गरेका थिए । निरीक्षणपछि मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निक्र्योल निकालिने भनेर फर्केका थिए ।