क्यानले एनपिएलको कमर्सियल अधिकार ५ करोड ९२ लाखमा बेच्यो

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमयर लिग (एनपिएल) को कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको छ।

क्यानका अनुसार बोलकबोल प्रक्रियाबाट ब्रान्ड डिजिटलले कमर्सियल अधिकार पाएको हो। त्यसका लागि उसले ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएको थियो।

अब उसले एनपिएल २०२४ को व्यापारिक पक्षको व्यवस्थापन र मार्केटिङ गर्न पाउनेछ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार अब मैदानमा हुने विज्ञापनको सबै अधिकार ब्रान्ड डिजिटलको हुन्छ।

तर एनपिएलको टिकेटिङमा भने उसलाई अधिकार छैन। टिकट क्यान आफैँले बेच्ने लामाले बताए। यता एनपिएलका लागि क्यानले ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया स्पोर्ट्सलाई आधिकारिक इभेन्ट रणनीतिक र मार्केटिङ कन्सल्ट्यान्ट नियुक्त गरेको छ। क्यानले दुबईमा कार्यालय भएको भारतीय कम्पनी ट्वान्टी फर्स्टलाई कन्सल्ट्यान्ट रूपमा पैसा तिर्नेछ।

यसअघि विभिन्न क्रिकेट प्रतियोगितामा समेत काम गरेको ट्वान्टी फर्स्टले अब एनपिएलको इभेन्ट म्यानेजमेन्ट, खेलको प्रोडक्सन, खेलको प्रशारण र खेल प्रोमोसनका काम गर्नेछ। ंक्यानका प्रवक्ता लामाका अनुसार कम्पनीको मुख्य काम एनपिएलको ुहाइपु बढाउने हुनेछ।

आगामी मंसिर १६ देखि पुस ६ सम्म हुने एनपिएलमा ८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। लिगमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, लुम्बिनी, पोखरा, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्।