पेट्रोलियम अन्वेषणको काम धमाधम, दुई किलोमिटर ‘ड्रिलिङ’ गरियो

सुर्खेत – दैलेखमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको अन्वेषणको काम धमाधम भइरहेको छ । जसअन्र्तगत अन्तिम चरणको ‘ड्रिलिङ’ को काम तिब्र गतिमा भइरहेको छ ।

गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियोे । मेसिनले जमिन मुनि खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पुष्टि गर्न लागिएको छ । अन्तिम चरणको अन्वेषण अन्तर्गत हालसम्म दुई किलोमिटर ‘ड्रिलिङ’ को काम सकिएको छ ।

हालसम्म पेट्रोलियम अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम दुई हजार २० मिटर गहिराइसम्म पुगेको आयोजनाका सिनियर डिभिजनल जियोलोजिष्ट सुरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अझै ‘ड्रिलिङ’ को काम सक्न साढे दुई महिना लाग्नेछ ।

‘अहिले ‘ड्रिलिङ’ को काम धमाधम भइरहेको छ । आयोजनामा चार हजार पाँच सय मिटर गहिराइसम्म ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ’ उहाँले भन्नुभयो, ‘त्यसपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे थप अध्ययन गरिने छ ।’

यता सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ । सोही लक्ष्य अनुरूप हाल धमाधम काम भइरहेको हो । चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको थियो । दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा अन्वेषण साइट छनोट भएको छ ।

चिनियाँ प्राविधिकको टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अहिले ड्रिलिङमार्फत् पेट्रोलियम पदार्थको अन्वेषणको काम भइरहेको छ ।

अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्नेछ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ । अबको साढे दुई महिनामा ड्रिलिङ सक्नेगरी काम भइरहेको जनाइएको छ ।

२०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो । यस समझदारी कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (दश महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो ।

दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । कोभिड महामारीका कारण सम्झौता अनुसार काम अगाडि बढ्न सकेन । पछिल्लो समय कामले गति लिएको हो । अहिले वर्षायामका केही दिन काम रोकिए पनि धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

अन्तिम चरणको अन्वेषणको कामका लागि सरकारले एक वर्ष म्याद थप गरेको छ । नेपाल सरकार खानी तथा भूगर्व विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि एक वर्ष म्याद थप गरिएको हो । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता २०८० फागुनमा सकिएको थियो । २०८१ फागुनसम्म आयोजनाको म्याद थपिएको हो ।