कर्णालीका विपद् पीडितलाई ६ करोड राहत

सुर्खेत – कर्णालीका विपद् पीडितहरुलाई राहत वितरण गरिएको छ । कर्णाली सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड बराबरको राहत वितरण गरेको हो ।

२०७६ चैतदेखि २०८१ साउन ७ गतेसम्म भएका दुर्घटनामा ज्यान गुमाउने तीन सय ४४ पीडित परिवारले राहत रकम बुझेका हुन् । प्रदेश सरकारले सामुहिक बीमावापत ६ करोड ८८ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत एक करोड १८ लाख रकम प्रदान गरिएको थियो । यस्तै दोस्रो चरणमा ४७ जनालाई ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई एक करोड ३२ लाख र चौथों चरणमा एक सय ७२ जनालाई तीन करोड ४४ लाख रुपैयाँ वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले बीमा रकम प्रदान गरेको हो । उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको छ । मन्त्रालयले गत आर्थिक बर्ष २०८०/८१ को साउन महिनादेखि असार मसान्तसम्म भुकम्प, बाढी–पहिरो, चट्याङ, आगलागी जस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका एक सय ७१ जनाका परिवारलाई तीन करोड ४२ लाख भुक्तानी गरेको छ ।

विशेषगरी जाजरकोट भुकम्पमा परि मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई दुई लाखका दरले तीन करोड रकम बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भुकम्पबाट मृत्यु भएका तीन जनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ ।

त्यस्तै गत वर्ष भुकम्प बाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाका परिवारलाई ४० लाख रकम बीमा मार्फत भुक्तानी गरिएको उहाँ बताउनुहुन्छ । कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइदै आइएको छ ।

बीमा गरिएको व्यक्तिको हकवालाले घटना भएको मितिले ३५ दिनभित्र बीमकलाई जानकारी गराई दाबी भुक्तानी प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । तर, विशेष परिस्थितिमा परी ३५ दिन भित्र जानकारी दिन नसकेमा जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्नुपर्ने व्यवस्था छ ।

बीमा दाबी प्राप्त गर्नको लागि बीमितले अनुसूची बमोजिमको दाबी फाराम भरी आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बुझाउनु पर्ने हुन्छ । मन्त्रालयमा प्राप्त कागजात उपर कारवाही गरी मन्त्रालयले विवरण बीमकलाई पठाउछ । विवरण प्राप्त भएको पन्ध्र दिनभित्र बीमकले हकवालाको बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ ।

यस्तै बीमकले बीमा दावी भुक्तानी गरेको विवरण स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश विपद् व्यवस्थापन समितिलाई जानकारी गराउनु पर्नेहुन्छ ।

तर बीमालेख अन्तर्गत जानीजानी आफैले लगाएको चोटको कारणबाट हुने मृत्यु, आत्महत्या वा यसको प्रयासको कारण, मादक पदार्थ वा लागु औषधको प्रभाव, गैर कानूनी तरिकाले उडेको उडानबाट भएको मृत्यको हकमा यो बीमा लागु हुने छैन ।

के हो सामुहिक बीमा ? 

आर्थिक वर्ष २०७६ मा कर्णाली सरकारले प्रदेशमा स्थायी बसोबास भएका र अन्य प्रदेशमा स्थायी बसोबास भई कर्णाली प्रदेश भित्रका सरकारी तथा गैर–सरकारी क्षेत्रको सेवामा कार्यरत कर्णालीका नागरिकको सामूहिक विपद् दुर्घटना बीमा कार्यक्रम मार्फत सुरक्षा प्रदान गर्न विपद् जोखिम बीमा सम्बन्धि कार्यविधि जारी गरेको थियो ।

प्राकृतिक विपद्को कारणबाट हुने मानवीय क्षतिलाई ध्यानमा राखी प्रदेश सरकारको उक्त ‘विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि, २०७६’ अनुसार विभिन्न प्राकृति विपद्जन्य दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख र आवास बीमा अन्तर्गत पाँच लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।

सोही बमोजिम आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी बिच १ असोज २०७६ मा कर्णालीका नागरिकको सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बीमा गरिएको थियो ।

बीमाअन्तर्गत कर्णाली प्रदेशका कुनैपनि नागरिकको प्रकोप या प्राकृतिक विपद्बाट निम्तिने दुर्घटनाले मृत्यु भएमा बीमावापत राहत उपलब्ध गराउने सरकारी योजना छ । यस कार्यविधि बमोजिम बीमा गरेबापत मन्त्रालयले बीमकलाई विपद् सामूहिक दुर्घटना बीमा शुल्क बीमकसँग सम्झौता वा समझदारी गरे अनुसार हुनेछ ।

बीमा गरिने सम्पूर्ण व्यक्तिको रकम मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीलाई आवश्यकता अनुसार तीन किस्तामा भुक्तानी गर्ने गरी प्रवन्ध मिलाएको छ । किस्ता रकम भुक्तानी गर्दा पहिलो किस्ता मंसिर मसान्तसम्म, दोस्रो किस्ता फाल्गुन मसान्तसम्म र अन्तिम किस्ता असार मसान्तसम्म वा सबै किस्ताको भुक्तानी एकै पटक प्रदान गरिने गरी मन्त्रालयले कार्यविधि बनाएको छ ।