माओवादी जनयुद्धबारे खड्काको प्रतिवेदनमा हेरफेर, शब्द हटाइयो

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी जनयुद्धबारे महासमिति बैठकमा राखेको धारणा परिवर्तन भएको छ।

गत फागुनमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा खड्काले प्रतिवेदन पेस गर्दै माओवादी जनयुद्धलाई ‘कथित, अनावश्यक र विध्वंशकारी’ भनेका थिए।

खड्काको उक्त धारणा सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रले तिब्र असन्तुष्टि जनाएको थियो। त्यसलाई समेत ख्याल गर्दै खड्काले आफ्नो प्रतिवेदनमा प्रयोग भएको भाषा परिमार्जन गरेका हुन्।

बुधबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठकमा महासमिति बैठकमा पेस भएका प्रतिवेदनलाई परिमार्जित गरेर पेस गरिएको थियो।

खड्काको परिमार्जित प्रतिवेदनमा पहिले प्रयोग भएका ती शब्दहरू हटाइएको छ।

महासमिति बैठकमा पेस भएको धारणा

कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति सुरू भयो। सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो। विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो। ध्वंश विध्वंशहरू भए। विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो। यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन।

परिर्माजित प्रतिवेदनमा प्रयोग भएको भाषा

सशस्त्र हिंसाको राजनीति सुरू भयो। सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो। विकास र समृद्धिको त्यो यात्रा अवरुद्ध भयो। सशस्त्र द्धन्द्धको कारणले विकासका कतिय संरचना तथा योजनाहरु तहसनहस भए।