कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत पाए

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनु भएको हो ।

संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । सोही अनुसार मुख्यमन्त्री कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ । भने कांग्रेस सरकारमा सहभागी भएको छ ।

सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिएका छन् । भने प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका हुन् ।

विश्वासको मत लिने प्रस्तावमा ३६ जना मतदानमा सहभागी भएका थिए । मुख्यमन्त्री कँडेलले आइतबार नै सरकारलाई पूर्णता दिइसक्नुभएको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा (एमाले) का १० (समामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादीका १/१ जना गरी हाल ३९ जना सांसद छन् ।

नेपाली कांग्रेसका १५ सांसद रहेकोमा जीवन बहादुर शाही निलम्बित हुनुहुन्छ । विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता भएपछि संसदीय दलका नेता जीवनबहादुर शाही गत चैत २२ गतेदेखि निलम्बनमा पर्नुभएको हो ।

गत चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कँडेलले यसअघि माओवादी केन्द्रको समर्थनमा गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत प्राप्त गर्नुभएको थियो ।