अर्थमन्त्रीको बस्ने घर छैन, सामाजिक मन्त्रीका ठाउँठाउँमा घर

सुर्खेत – कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइट मार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरुको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि सार्वजनिक गरिएको हो ।

उक्त विवरण अनुसार कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीको बस्ने समेत घर छैन । भने सामाजिक विकास मन्त्री वीरबहादुर शाहीको ठाउँठाउँमा घर भएको उल्लेख छ ।

अर्थमन्त्री केसीले आफ्नो बस्ने समेत घर नभएको सम्पती विवरणमा उल्लेख गरेका छन् । भने सामाजिक विकास मन्त्री शाहीले आफ्नो ठाउँ ठाउँमा चार वटा घर भएको उल्लेख गरेका छन् ।रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, निवासी अर्थमन्त्री केसीको नाममा गाउँमा दुई कित्ता जमिन छ भने कपिलवस्तुको बाँणगंगामा तीन कित्ता जमिन छ । बाँफिकोटको जग्गा पुर्ख्यौली रहेको उल्लेख गरेका केसीले कपिलवस्तुको जग्गाबारे स्रोत खुलाएका छैनन् ।

केसीसँग सुन चाँदी केही छैन । उनी र उनको परिवारको नाममा दुईवटा बैँकमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात छ । केसीको पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख छ । त्यस बाहेक उनीसँग अन्य सम्पत्ति नभएको उल्लेख छ ।

तर यता सामाजिक विकास मन्त्री वीरबहादुर शाही भने प्रदेश सरकारका मन्त्रीहरुमध्ये सबैभन्दा धनि देखिएका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका–५, निवासी मन्त्री शाहीको ठाउँठाउँमा चार वटा घर मात्रै छन् । गाउँका १०६० वर्ग मिटरमा बनाइएको घर पुर्ख्यौली रहेको उनले बताएका छन् ।

यस्तै बाँकेमा रहेका दुई वटा घर १० लाखमा जोडेको उल्लेख गरेका छन् । जुन घरहरु एउटा ३७६.५५ वर्ग मिटर क्षेत्रफलमा र अर्को २१ धुरमा बनेका छन् । यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२, मा २५ लाख मूल्य बराबरको अर्को घर रहेको शाहीले उल्लेख गरेका छन् । यी घरहरू उनले ठेक्कापट्टाबाट जोडेको बताएका छन् ।

पहिल्लो समय शाही राजनीतिसँगै ठेक्कापट्टामा पनि सक्रिय छन् । शाहीकै नामा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा जग्गाजमिन छ । डोल्पा जगदुल्लाका दुई ठाउँमा ११ घुर, सुर्खेतमा ९ धुर, बाँकेमा २०० धुर, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, का दुई ठाउँमा गरी ४०० धुर र डोल्पामै अर्को चार विगाह पुर्ख्यौली जमिन रहेको उल्लेख छ ।

बाँकी सम्पती ठेक्कापट्टाबाट नै जोडेको शाहीले बताएका छन् । सुर्खेत र बाँकेको एक करोड ५० लाख बराबर मूल्यमा खरिद गरेको र रुकुम पश्चिमको ६५ लाख रकममा खरिद गरेको जनाएका छन् ।

शाहीसँग चल सम्पत्ति पनि धेरै छ । शाहीसँग २९ तोला सुन, पाँच तोला चाँदी, मुरा १० तोला रहेको उल्लेख छ । मन्त्री शाही र उनकी श्रीमती शिलकुमारी शाहीको नामा पाँच लाख रकम मौज्दात रहेको छ । उनको ठेक्का कम्पनी उनकै श्रीमतीको नाममा रहेको र उक्त रकम पनि ठेक्कापट्टाबाट नै कमाएको उल्लेख छ ।

उनको डिविसी कन्स्ट्रक्सन नामको कम्पनी ६० प्रतिशत मन्त्री शाही र ३० प्रतिशत श्रीमतीको नाममा छ । उनीसँग कम्पनी र आफ्नो नाममा आठ लाख मात्र ऋण छ । शाहीसँग दुई वटा डोजर, एक ट्याक्टर र अन्य केही सवारी साधन पनि छन् । तर, नाम प्रस्ट खुलाइएको छैन । सबै ठेक्कापट्टाबाट नै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् ।

यस्तै उनीसँग एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, १०० बाख्रा रहेका छन् भने एउटा उद्योग पनि छ । उक्त उद्योगमा एक करोडमा खरिद गरिएको उल्लेख छ ।

मुख्यमन्त्री र कृषि मन्त्रीका काठमाडौं घर

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र कृषि मन्त्रीको काठमाडौंमा घर छ । बाँकी ६ मन्त्रीमध्ये सामाविक विकास मन्त्री बाहेक अरु कसैको वीरेन्द्रनरमा समेत घर छैन ।

मुख्यमन्त्री यामलाल कँडेलको काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मा घर छ । काठमाडौंको घर कँडेलकी पत्नी गीता अधिकारीको नाममा छ । भने भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको पनि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५, मा चार आनामा दुई तलाको घर छ । ७५ लाख ऋणमा किनिएको शाहले उल्लेख गरेको घर उनकी श्रीमती लक्ष्मीदेवी शाहको नाममा छ ।

मुख्यमन्त्री कँडेलले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा रहेको घरलाई पुर्यौली भनेका छन् भने काठमाडौंको घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरुको पारिश्रमिकबाट किनेको उल्लेख गरेका छन् ।

कँडेलको काठमाडौंको मूलपानीमा एउटा र सुर्खेतको वीरेन्द्रनगरमा चार वटा घडेरी छ । सुर्खेतको घडेरीहरु पुर्ख्यौली भएको र काठमाडौंको आठ आना जग्गापछि किनेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

कँडेलले आफूसँग भएको १० तोला सुन पुर्ख्यौली र पछि खरिद गरेको सम्पत्ति विवरणमा जनाएका छन् । मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । उक्त रकमको स्रोत पारिश्रमिक, घर भाडा, बोनस र सापटी फिर्ताबाट उठेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कँडेलले र पत्नी गीताको नाममा ललितपुर र सुर्खेतका सहकारी, कलेज र विभिन्न वित्तीय संस्थाहरू सहित आठ ठाउँमा शेयर भएको सम्पत्ति विवरणमा देखाएका छन् । कँडेलले श्रीमतीको पेसाबारे पनि खुलाएका छैनन् । उनले राष्ट्रिय वाणिज्य बैङ्कबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री कँडेलसँग दुई वटा मोबाइल, एउटा ट्याब्लेट, दुईवटा घडी र एउटा ल्यापटप रहेको उल्लेख गरेका छन् ।

यस्तै ठाटीकाँध गाउँपालिका–१, दैलेख निवासी कृषि मन्त्री शाह दम्पती दुवै राजनीतिमा संलग्न छन् । श्रीमतीकै नाममा तीन ठाउँमा जमिन छ । भक्तपुरको सूर्य विनायकमा ४८ लाख मूल्य बराबरको ५०८.७४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जमिन छ ।

आठबीस नगरपालिका दैलेखको राकम कर्णालीमा १० लाख मूल्य बराबरको १८५ वर्ग मिटरको जमिन छ भने आफ्नो गाउँमा ५० रोपनी जमिन छ । भक्तपुर र ठाटीकाँधको जमिन पुर्ख्यौली र राकम कर्णालीको जमिन पारिश्रमिकबाट खरिद गरिएको उनले उल्लेख छन् । मन्त्री शाहकी श्रीमती यसअघि जिल्ला समन्वय समिति दैलेखको उपाध्यक्ष थिइन् ।

उनीहरूसँग चल सम्पत्ति पनि धेरै रहेको खुलेको छ । जसमा ६५ तोला सुन, १५ क्यारेट हिराको हार, रुवी सेट दुई थान र १५ सय तोला चाँदीका भाँडा रहेको उल्लेख छ । उक्त सम्पत्ति केही पुर्ख्यौली, छोरा र आफ्नो पारिश्रमिक, छोरीले केही उपहार दिएको उल्लेख छ । उनका छोरा र छोरी अस्ट्रेलियामा बस्छन् ।

मन्त्री शाहको नाममा दुई वटा बैँकमा गरी ६० हजार रकम पारिश्रमिकको मौज्दात रकम छ भने एउटा मोबाइल र एउटा ल्यापटप छ । यी सामानहरू पारिश्रमिकबाट खरिद गरेको उनले उल्लेख गरेका छन् ।

अरुसँग तोलाका तोला सुनचाँदी, पर्यटन मन्त्रीसँग शुन्य

मन्त्रीहरुको सम्पती विवरण अनुसार मुख्यमन्त्री र राज्यमन्त्रीसहित आठ मन्त्रीमध्ये डोल्पाबाट प्रतिनिधित्व गर्ने सामाजिक विकास मन्त्री शाही सबैभन्दा धनी देखिएका छन् । यस्तै मुख्यमन्त्री कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री शाह पनि धनी मन्त्री रहेको पाइएको छ ।

उनीहरूसँग ठुला सहरमा घर घडेरीदेखि सुनचाँदी धेरै छ । तर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतसँग सुन चाँदी नै छैन । भने भौतिक राज्यमन्त्री गमता विकसँग गाउँमा रहेको घर पनि आफ्नो नाममा छैन ।

कालिकोटको तिलागुफा नगरपालिका–७, निवासी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतको गाउँमा एउटा घर छ । तर स्रोत भने खुलाइएको छैन । यस्तै तिलागुफामै पुर्ख्यौली सात वटा ठाउँमा जमिन छ । उनीसँग नगद, सुन, चाँदी केही पनि छैन, भने दुई वटा बैँकमा १९ लाख ५० हजार बराबर रकम रहेको उल्लेख छ । त्यसबाहेक उनीसँग केही पनि नरहेको उल्लेख गरेका छन् ।

आठबिस नगरपालिका–१, दैलेख निवासी भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकले पनि घर, जमिन केही नभएको विवरण पेस गरेकी छन् । यद्यपि उनको गाउँमा कच्ची पुर्ख्यौली घर छ । तर उनले आफ्नो नाममा नभको बताएकी छन् । उनीसँग चार तोला सुन, १० तोला चाँदी छ, जो कृषि खेतीबाट जोडेको र केही पैतृक सम्पत्ति रहेको उल्लेख छ ।

उनको नाममा पाँच लाख रकम बैँकमा जम्मा छ । उक्त रकम सांसदको तलब भत्ताबाट जम्मा गरिएको उल्लेख छ । यस्तै तीन लाख ऋण रहेको र त्यसमा एक लाख तिरिसकिएको बताएकी छन् । उनीसँग २० हजारको मोबाइल, पाँच हजारको घडी र ३० हजारको टिभी रहेको उल्लेख छ । उक्त सम्पत्ति तलब भत्ताबाट जम्मा गरिएको बताएकी छन् ।

हुम्ला अदानचुली–१, निवासी जलस्रोत तथा ऊर्जा विकास मन्त्री रणसिं परियारसँग पनि खासै सम्पत्ति छैन । गाउँमा पुर्ख्यौली घर छ । सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली पाखो बारी र जमिन छ । तीन तोला सुन, २० तोला चाँदी र ६० हजार रकम मौज्दात रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

नगद तलभत्ता र बाँकी पुर्ख्यौली सम्पत्ति हो । दुई वटा बैँकमा गरी ७० हजार रकम मौज्दात छ भने चार वटा गाई, सात गोरु र ३० बाख्रा छन् । सबै पुर्ख्यौली नै रहेको उल्लेख छ । तीन लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको पनि परियारले उल्लेख गरेका छन् ।

मन्त्री बुढाको बैंक खातानै नभएको उल्लेख

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले आफ्नो बैंक खातानै नभएको उल्लेख गरेका छन् । मन्त्री जस्तो व्यक्ति भएकोले सम्पती विवरण भर्दा आफ्नो नाममा बैँक खाता नै नभएको उल्लेख गर्नु उपयुक्त होइन ।

डोल्पाको काइके गाउँपालिका निवासी बुढाको वडा नम्बर २ मा पुर्ख्यौली घर तथा सात कित्ता जग्गा रहेको उल्लेख गरेका छन् । यस्तै उनकी श्रीमती कुमारी बुढाको नाममा डोल्पाकै ठुलोभेरी नगरपालिका–३, को दुई वटा ठाउँमा जमिन छ । उक्त सम्पत्ति व्यापारबाट जोडेको उल्लेख भएपनि कस्तो व्यापार भन्ने उल्लेख छैन ।

बुढासँग २० तोला सुन, ६० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्ति पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै श्रीमतीकै नाममा रहेको नेपाल बैँकमा २० लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उक्त रकम पनि व्यापारबाट नै जोडेको उल्लेख छ ।

बुढासँग दुईवटा बुलेट बाइक रहेका छन् । एउटा ७ लाख ५० हजार र अर्को ५ लाख ५० हजार मूल्य परेका ती बाइकहरू पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै उनीसँग चार वटा घोडा, ५ गाई, १० भेडाबाख्रा रहेको छन् । ती सबै पुर्ख्यौली सम्पत्ति रहेको बुढाले उल्लेख गरेका छन् । अन्य सम्पत्तिमा १० केजी काँच र २०० केजी तामा रहेको पनि बुढाको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग ऋण छैन ।