जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो, ३ जना गम्भीर घाइते

 

काठमाडौं – जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छिन् ।

घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए । ‘सीडीओ साबसँग कराकानी भइरहेको छ । केही मिलाउँदै हुनुहुन्छ होला !’उनले भने ।

वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ । उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ । ‘निरमायाको पहिले पनि खुट्टा अपरेशन गरेको रैछ । अहिले अर्को खुटमा पनि चोट लागेपछि हिँड्नै नसक्ने भएकी छन्’, उनले भने ।

गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए । पहिरो जाँदै गर्दा खुट्टामा चोट लागेकी निरमायालाई टहराबाट निकाल्ने प्रयास गर्दा छिमेकी कल्पना पनि पहिरोको चपेटामा परेको सिंहले बताए । ‘झट्टै निकाल्छु भनेर गएकोबेला विचरा आफू पनि पहिरोमा परिन्’, उनले भने ।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पु¥याएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरु अस्थायी टहरामा बसिरहेका छन् । – onlinekhabar