कर्णाली रङ्गशालाको १० प्रतिशत काम बाँकी, म्याद थप गर्ने तयारी

सुर्खेत – कर्णाली रङ्गशालाको १० प्रतिशत काम बाँकी रहेपछि म्याद थप गर्ने तयारी छ । प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा रङ्गशाला निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि असार २४ गतेसम्मको विवरण अनुसार रङ्गशाला निर्माणको अझै १० प्रतिशत काम बाँकी छ ।

०७८ मङ्सिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशालाको शिलान्यास गरेका थिए । ३० महिनाभित्र अर्थात् ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी ०७८ कात्तिक २८ गते एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माणको जिम्मेवारी पाएको थियो । यद्यपि रङ्गशालाको काम समयमा सम्पन्न हुन सकेन ।

०७८ माघ ११ गतेदेखि चैतसम्म लकडाउन घोषणा गरिएको थियो । प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्याल लकडाउनकै कारणले रङ्गशाला निर्माणको काम सम्पन्न हुन केही ढिलाइ भएको बताउँछन् । त्यसलाई पनि मेकअप गर्नेगरी रफ्तारमा काम गरिए पनि विविध कारणले गर्न नसकिएको उनले बताए ।

स्थापनाकालदेखि अहिलेसम्म कर्णाली सरकारबाट भइरहेको एकमात्र गौरवको आयोजना हो यो । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रङ्गशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माण लगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । १० हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रङ्गशालाको फिनिसिङ लगायतका काम गर्न बाँकी नै छन् । सञ्ज्यालका अनुसार अब मेसिनरी काममात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम पनि बाँकी छन् ।

यस्तै झ्याल ढोका, बाथरुम फिटिङ गर्नुपर्ने काम पूरा हुन बाँकी नै छ । यी सबै काम साउन र भदौ महिनामा जुनसुकै हालतमा सम्पन्न गरिने दाबी उनको छ ।

०८० असारमा ६० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको दाबी गरेको खेलकुद विकास परिषद्ले अहिले विभिन्न कारण देखाउँदै ढिलाइ भइरहेको बताएको छ । अहिलेसम्म एक अर्ब ४४ करोड बराबरको रकम निर्माण कम्पनीलाई भुक्तानी भइसकेको छ भने १० हजार दर्शक क्षमताको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने बाहेकको भौतिक संरचनाको काम सबै सकिएको छ ।

वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माण लगायतका काम पनि सम्पन्न भइसकेका छैनन् । यी काम अन्तिम चरणमा रहेको सञ्ज्याल बताउँछन् ।

आउटडोर मोडमा बास्केट बल, भलिबल लगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ । यो रङ्गशाला मङ्सिरमा कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गरी अगाडि बढाइएको थियो । यद्यपि उक्त प्रतियोगिताबारे अहिलेसम्म तयारी भने खासै भइरहेको देखिन्न ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सञ्ज्याल रङ्गशालाका कारण मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनामा कुनै समस्या नआउने बताउँछन् । यो रङ्गशालाभित्र १६ वटा खेल खेल्न सकिने उनले बताए । त्यस बाहेकका खेल कहाँ खेलाउने भन्नेबारे अहिलेसम्म कुनै छलफल भएको देखिन्न ।

१० औँ खेलकुदको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्को भए पनि तयारीका बारेमा अहिलेसम्म खासै तदारुकता नदेखिएको उनले बताए । यद्यपि अहिलेसम्म कर्णालीले आफ्नै बलबुताले काम गरिरहेको उनको भनाइ छ ।