वीरेन्द्रनगरको बजेट ३ अर्ब ५९ करोड

सुर्खेत – कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१-८२) का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

जुन चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो । नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार अर्थात ७८.९३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ, भने १ अर्ब ८३ करोड ४५ लाख अर्थात ५१.०७ प्रतिशत रकम पुँजीगत छुट्टाइएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये सङ्घीय वित्तीय सामानीकरण अनुदान २४ करोड १२ लाख, सशर्त अनुदान १ अर्ब ६९ करोड २८ लाख ५१ हजार ३६, सङ्घीय राजश्व बाँडफाँडतर्फ १८ करोड ९८ लाख ८१ हजार ९० रहेको छ ।

यस्तै सङ्घीय सरकार विशेष अनुदान पुँजीगत रु. १ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान पुँजीगत रु.१ करोड, सङ्घीय सरकार रोयल्टी रु. ८ लाख १८ हजार ८ सय ७३ र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु. २ करोड ९९ लाख १४ हजार रहेको छ ।

प्रदेश सशर्त अनुदान रु.२८ करोड १३ लाख ३८ हजार, प्रदेश राजश्व बाँडफाँड रु.६४ लाख ७५ हजार १ सय ४८, घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जनबाट रु.१४ करोड ३६ लाख ५८ हजार ८ सय ५२ र दहत्तर बहत्तर शुल्क रु. २ करोड ५० लाख अनुमान गरिएको छ ।

यस्तै नगरपालिकाको आन्तरिक आय रु.३६ करोड ८३ लाख ४ हजार हुने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षमा खर्च नभई मौज्दात रहने रकम बाट रु. १८ करोड ७४ लाख २८ हजार रहेको छ । यस्तै सामाजिक सुरक्षा अनुदानबाट रु. ४० करोड रकम पाइने अनुमान गरिएको छ ।
नगर उपप्रमुख नीलकण्ठ खनालले आगामी आर्थिक वर्षमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु. ३१ करोड ५० लाख विनियोजन गरेका छन् ।

सुर्खेतमा रहेका नीजि यातायात व्यवसायीले पटक पटक उपत्यकामा नगर बस सञ्चालन गरेपनि दिगो नभएपछि नगरपालिकाले आफै नगर बस सञ्चालन गर्ने नीति तथा कार्यक्रममै समेटेको छ । आगामी आर्थिक वर्ष ०८१–०८२ मा नगरपालिकाको आन्तरिक व्यवस्थापनमा सर्वसुलभ र सुलभ रुपमा वीरेन्द्रनगरले नगर यातायात संचालन गर्न नीति तथा कार्यक्रममै समावेश गरेको हो ।

वीरेन्द्रनगरको १५ औं नगर सभामा सभाध्यक्ष रहेकी नगर प्रमुख मोहनमाया ढकालले राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना निर्माण प्रक्रिया प्रारम्भ भएकाले आगामी तीन बर्षमा कार्यसम्पन्न गरी खानेपानी व्यवस्थापन गर्न तीब्रताका साथ कार्य अघि बढाइनेछ बताउनुभयो ।
उहाँले नगर क्षेत्रमा तत्काल खानेपानीको वैकल्पिक माध्यम, मुल सुधार, पानी वितरण प्रक्रियामा सुधार र डिप बोरिङ व्यवस्थापन गरिनेछ उल्लेख गर्नुभयो । राजधानी केन्द्रित पूर्वाधार विकास आयोजना लागू, मुख्य बजार पार्किङ व्यवस्थापन गर्न घण्टाघर पार्क निर्माण र घण्टाघर पश्चिम खुल्ला पार्क निर्माण घण्टाघर दक्षिण पार्क निर्माण आगामी बर्षबाट कार्य प्रारम्भ गरी व्यवस्थित सहर निर्माण गरिने नीतिमा समावेश छ ।