१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने, मन्त्री श्रेष्ठले गरे रङ्गशाला अवलाेकन

सुर्खेत – आगामी मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।

उक्त टोलीले सोमबार बिहान वीरेन्द्रनगर स्थिति निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णालीले पहिलो पटक यतिठुलो संरचना बनाएको भन्दै प्रशंसा गरे । प्रतियोगिता तोकिएकै मितिमा हुने उनले बताए ।

‘‘कर्णालीले जमर्को गरेर १० औँ राष्ट्रिय खेलकुदलाई महोत्सव मनाउन अपिल गदैृ खेलकुद प्रतियोगिता हुन्छ कि हुन्न भन्ने आशङ्का नगर्न सुझाब दिए । मन्त्री श्रेष्ठले २०८१ मङ्सिरमा दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने भएकाले पूर्व तयारीका लागि आवश्यक परामर्शका लागि सुर्खेत पुगेर रङ्गशालाको अवलोकन गर्दै तयारीमा जुटेको बताए ।

संरचना निर्माणको सन्दर्भमा सङ्घले बजेट दिन नसकेको उनले स्वीकार गरे । उनका अनुसार केन्द्रले १० करोड छुट्याउन खोजेको थियो । तर बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको छ । कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरू र सरोकार निकायसँग पनि उनले छुट्टा छुट्टै छलफल गरे ।