१५ जना विद्यार्थीका लागि ३० लाखको छात्रवृत्ति प्याकेज

सुर्खेत – देशभरका १५ जना विद्याथीका लागि ३० लाखको छात्रवृत्ति प्याकेज ल्याईएको छ । ‘बी वान ग्रुप अफ कम्पनी’ ले प्लस टु र स्नातक तहमा अध्ययन गर्न चाहाने १५ जना विद्यार्थीका लागि ३० लाखको छात्रवृति योजना ल्याएको हो ।

विहिबार सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उक्त कम्पनीले आगामी शैक्षिक सत्रका लागि विद्यार्थीलाई ३० लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १५ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको कम्पनीका कार्यकारी निर्देशक त्रिभुवन ढकालले बताउनुभयो । उहाँका अनुसार उक्त छात्रवृत्ति योजनामा समावेस हुन यस वर्षको एसईई र प्लस टु सकेर बसेका विद्यार्थीहरूले निःशुल्क अनलाईन माध्यमबाट फर्म भर्नुपर्ने हुन्छ । यो योजना सन् २०२५ का लागि हो ।

अनलाइन माध्ययमबाट परेका आवेदनबाट देशभरका १५ उत्कृष्ट विद्यार्थी छनोट गरी नेपालमै वा विदेशी मुलुकहरुमा जापान, कोरिया, बेलायत, न्यूजिल्याण्ड र दुबईका जुनसुकै कलेजमा जुनसुकै विषय पढ्न पाउने गरी आंशिक वा पूर्णरुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने निर्देशक ढकाल बताउनुहुन्छ ।

हाल यो कम्पनीले काठमाडौं, चितवन, बुटवल र सुर्खेतमा रहेर शिक्षा, प्रविधि, कृषि र पर्यटन क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले यसअघि २०७७ मा पाँच जना जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराइ सकेको छ । छात्रवृत्ति योजनामा समावेश हुने रकम कम्पनीले आफ्नै आम्दानीबाट व्यहोर्ने छ ।