प्रदेश प्रमुख परियारलाई महालेखापरीक्षकको प्रतिवेदन बुझाइयो

सुर्खेत –  कर्णाली प्रदेश प्रमुख तिलक परियार समक्ष बुधबार महालेखापरीक्षकको कार्यालयले तयार पारेको छैटौं बार्षिक प्रतिवेदन बुझाइएको छ ।

संविधानको धारा २९४ को उपधारा ३ बमोजिमको संबैधानिक व्यवस्था अनुसार उपमहालेखापरीक्षक बैकुण्ठ बहादुर अधिकारीले आर्थिक वर्ष २०७९/०८० मा कर्णालीका सरकारी निकायले गरेका काम कारवाहीको प्रतिवेदन प्रदेश प्रमुख परियारलाई बुझाएको उनका प्रेस सल्लाहकार टेकेन्द्र विश्वकर्माले जानकारी दिए ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परियारले लेखापरीक्षणको भूमिका र जिम्मेवारी महत्वपूर्ण रहेको भन्दै सरकारी रकम खर्च गर्दा कानूनी पक्ष र प्रक्रियागत पक्षमा ध्यान दिन मन्त्रालय तथा कार्यालयहरुलाई निर्देशन दिए । आर्थिक अनुशासन कायम गर्न व्यवहार र प्रवृत्तिमा सुधार ल्याउनुपर्ने उनले बताए ।

प्रतिवेदन अनुसार कर्णाली सरकारको हालसम्म कुल ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजार बढि रुकम बेरुजु देखिएको हो । जसमा आर्थिक वर्ष २०७९/०८० मा मात्रै ९६ करोड ७७ लाख ५२ हजार बढि रकम बेरुजु देखिएको छ ।