राष्ट्रिय जिडिपीमा कर्णालीको ४.२८ प्रतिशत योगदान

सुर्खेत – चालु आर्थिक वर्षमामा कर्णाली प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२८ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आ.व. २०७९÷८० मा पनि कर्णाली प्रदेशले ४.२८ प्रतिशत नै योगदान पुर्याएको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सुर्खेतमा गरेको एक कार्यक्रमका अवसरमा कर्णालीको जिडिपी अनुमान सम्बन्धि जानकारी दिइएको हो । जसअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ का लागि कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन करिब दुई खर्व ४४ अर्व हुने अनुमान गरिएको छ । गत आ.व. २०७९/८० मा करिब दुई खर्ब २९ अर्ब रहने संशोधित अनुमान थियो ।

त्यसैगरी कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०/८१ मा ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता डा. हेमराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार गत आ.व. २०७९÷८० मा १.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।

चालु आ.व. २०८०/८१ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.५१ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१७ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको डा. रेग्मी बताउनुहुन्छ । गत गत आ.व मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (२९.३२ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान (०.१६) मा रहने संशोधित अनुमान गरिएको थियो ।

कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.५२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–१.०२ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, गत आ.व. २०७९/८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२१.८७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (–२.३१ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको थियो ।

यस्तै चालु आ.व मा कर्णालीका प्रतिव्यक्ति जिडिपी १०६६ रहने अनुमान गरिएको छ । आर्थिक वृद्धिदरमा कर्णाली सबैभन्दा पछि छ । चालु आ.व. २०८०/८१ को प्रारम्भिक अनुमान बमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुत्त गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा थोरै वृद्धिदर (३.३९ प्रतिशत) कर्णाली प्रदेशमा हुने प्रारम्भिक अनुमान रहेको छ ।

औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आ.व. र यस आ.व.मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तवा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ ।

चालु आ.व. २०८०/८१ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ । त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोवार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ । बागमती र मधेश प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ भने बागमतीमा पानी आपुर्ती तथा फोहर व्यवस्थापनसम्बन्धी क्रियाकलाप र मधेशमा खनिज तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

चालु आ.व. २०८०/८१ को औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको सबैभन्दा धेरै (२१.८४ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएकोमा लुम्बिनी प्रदेश बाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ । लुम्बिनी प्रदेशमा विद्युत क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा उद्योग क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको देखिन्छ भने अन्य प्रदेशमा निर्माण क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून देखिन्छ ।

निर्माण क्षेत्रको वृद्धिदर सबै प्रदेशमा ऋणात्मक देखिन्छ भने उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर कर्णाली प्रदेश बाहेक अन्य प्रदेशमा ऋणात्मक देखिन्छ । राष्ट्रिय तहमा पनि यी दुई क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रारम्भिक अनुमान गरिएको छ ।