१९ खर्बको बजेट प्रस्तुत हुदैँ, कर्मचारीको तलब नबढ्ने

काठमाडौं – मुलुकको ७३औँ बजेट २०८१/०८२ आज सार्वजनिक हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछन्।

अर्थमन्त्रीले बजेट प्रस्तुत गरिसकेपछि संयुक्त बैठक स्थगित हुनेछ। आजै प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टा छुट्टै बैठक बस्ने छ भने दुवै सदनको बैठकमा अर्थमन्त्री पुनले आर्थिक वर्षको राजस्व र व्ययको प्रतिवेदन पेस गर्नेछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले बजेट ल्याउन लागेको हो।

यसपटक सरकारले कर्मचारीको तलब भने नबढाउने रणनीति लिएको छ। यस्तै बजेटबाट सरकारले वृद्धभत्ता पाउने उमेरलाई फेरि ७० बनाउने तयारी गरेछ। दुई वर्षअघि ७० वर्षबाट घटाएर ६८ मा झारिएको थियो।

नेपालमा विसं २००८ सालदेखि वार्षिक बजेट प्रस्तुत गर्ने व्यवस्थाको थालनी भएको हो। नेपालमा बजेट प्रस्तुत गर्ने चलन प्रजातान्त्रिक व्यवस्थाको शुरुवातसँगै भएको हो। २००८ साल माघ २१ गते नेपालमा संवैधानिक व्यवस्थाअनुसार प्रथम बजेट पेश भएको थियो।

तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पेश गरेको पहिलो बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो।