भिमाको शव २१ दिनदेखि अस्पतालमै, अदालतले दुबै पक्षलाई बोलायो

सुर्खेत – भिमा गुरूङ मृत्यु प्रकरणका सम्बन्धमा जिल्ला अदालत सुर्खेतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

अदालतमा दर्ता भएको मुद्दा उपर मंगलबार सुनुवाई गर्दै अदालतले घटनाको गाम्भिर्यता र संवेदनशिलतालाई ध्यान राखी दुवै पक्षलाई वैशाख २१ गते शुक्रबार छलफलका लागि झिकाउन आदेश दिएको छ ।

साथै अदालतले मृतकका आफन्त, परिवार, सहयोगीसमेतलाई आवश्यक सुरक्षाको प्रवन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय सुर्खेत तथा सुर्खेत प्रहरीलाई समेत निर्देशन दिएको छ । पीडितका तर्फबाट कानून व्यवसायी अधिवक्ता शेरबहादुर खत्रीले बहस गर्नुभएको थियो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको लापरवाहीले ज्यान गुमाएकी २२ वर्षीया भिमा गुरूङका आफन्त न्याय माग्दै अदालत पुगेका हुन्् । मृतक भिमाको शव २१ दिनदेखि प्रदेश अस्पतालको शवगृहमा अलपत्र छ ।

दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी मृतक भिमाका आफन्तले गत आइतबार अस्पताल विरुद्ध मुद्दा दिएका हुन् । मृतकका ससुरा नातापर्ने धनबहादुर बलामी मगरले न्याय माग्दै जिल्ला अदालत सुर्खेतमा निवेदन दर्ता गराएका हुन् ।

अदालतमा दायर भएको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा. ललितजङ्ग शाही लगायतलाई विपक्षी बनाइएको छ । अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकको गम्भिर लापरवाहीले भिमाको मृत्यु भएको धनबहादुर मगरको दावी छ ।

भिमा मृत्यु घटनामा हालसम्म न्याय नपाएपछि आफन्त अदालत पुगेका हुन् । अदालतमा दायर भएको मुद्दामा मृतककी नाबालिक ८ महिने छोरीको लालनपालन, रेखदेख संरक्षणका साथै उचित क्षतिपूर्ती अदालतबाटै पीडित परिवारलाई दिलाइ भराई पाऊँ भनि माग दावी गरिएको छ ।

मृतक भिमाका आफन्तले ८ महिने नाबालिका छोरीको पालनपोषणका लागि उचित व्यवस्थापन, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

यसअघि आफन्तले गरेको शान्तिपूर्ण आन्दोलनबाट माग सुनुवाई नभएपछि पीडित परिवार अदालतको ढोका गुहार्न बाध्य भएको हो । यस्तै, स्वास्थ्य परिक्षण प्रतिवेदन लगायतका प्रमाण नष्ट गर्न सक्ने भन्दै मृतकको स्वास्थ्य परिक्षण प्रतिवेदन झिकाई पाउँ भनि आफन्तले निवेदन दिएका छन् ।

विरामीको सल्यक्रियामा संलग्न चिकित्सकहरुको बारेमा जानकारी दिन प्रदेश अस्पताललाई आदेश दिन र जिल्ला प्रशासन कार्यालय तथा मानव अधिकार आयोगको प्रत्यक्ष निगरानीमा विशेषज्ञबाट शव पोष्टमार्टम गर्ने व्यवस्था मिलाई दिन आफन्तले अदालतसँग माग राखेका छन् ।

घटना पश्चात निस्पक्ष छानविन समितिको माग गरिएपनि प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश अस्पताल र जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत वेवास्था गरेको आफन्तको गुनासो छ । यसबारे घटनाको निष्पक्ष छानविन गरी प्रतिवेदन पेश गर्नका लागि कर्णाली प्रदेश सरकारका नाममा आदेश गरिदिन पनि माग गरिएको छ ।

गत २८ चैतमा सामान्य पेट दुखाइ सम्बन्धि समस्या भई हिँडेर उपचार गर्न प्रदेश अस्पताल पुगेकी भिमालाई अस्पतालले भोेलिपल्ट मृत घोषणा गरिदिएको थियो । सामान्य अवस्थामा अस्पताल आएकी भिमाको मृत्यु भएपछि आफन्तहरु अस्पतालको लारवाही भएको आरोप लगाउँदै आन्दोलित बनेका थिए ।

झण्डै एक साता बढी वीरेन्द्रनगरमा आन्दोलित बनेका आफन्तले राखेका माग पुरा गर्न अस्पताल, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकार तयार नभएपछि भिमाको शव अस्पतालमै छाडेर आफन्त दैलेख घर फर्किएका थिए ।

यसरी भएको थियो घटना

गत चैत्र २८ गते मृतक भिमालाई पेट दुख्ने समस्या भएपछि आफै हिँडेर प्रदेश अस्पताल पुग्नुभएको थियो । अस्पतालमा डाक्टरले जाँच गर्दा पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनुभयो ।

भिमाको सल्यक्रिया गर्नुअघि चैत २९ गते डाक्टरको टिमले यो केश सामान्य भएकाले चिन्ता नगर्नु भनी आफन्तलाई सम्झाइ बुझाई गरी शल्यक्रिया कक्षमा लगेका थिए । सोही दिन अपराह्न तीन बज्न १० मिनेट बाँकी रहदासम्म डाक्टरहरूले सबै ठिकै छ भनेर रगत चडाएको आफन्तहरुले दावी गर्दै आएका छन् ।

तर एक्कासि त्यसको केही समयमा तपाईंको बिरामीको अवस्था धेरै नै जटिल भयो भनी खबर गरियो । फेरी त्यसको केही समयपछि उपचारमा संलग्न डाक्टरहरूले भिमाको मृत्यु भएको आफन्तलाई जानकारी दिए । शल्यक्रियाका क्रममा बिरामीको अवस्थाको विषयमा बिचमा कुनै जानकारी नगराइनु र डाक्टरहरूको हाऊभाऊ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भिर त्रुटी र लापरबाहीकै कारण भिमाको मृत्युको भएको आफन्तको दावी छ ।

घटनापश्चात कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग आफन्तले छलफल गर्दा भिमाको केश हजारौँमा एकाध मान्छेलाई हुने भन्दै निकै जटिल र गम्भिर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ दिएका थिए । तर खड्काको यो भनाइ भिमाका आफन्तहरु स्विकार्ने पक्षमा थिएनन् ।

‘निकै जटिल र गम्भिर खालको केश थियो भने शल्यक्रिया गर्नुअघि हामीलाई किन जानकारी गराइएन् ?’ मृतक भिमाका ससुरा धनबहादुरले भन्नुभयो, ‘अर्को कुरा त्यस्तो गम्भिर केश थियो भने स्त्री रोगसम्बन्धी सिनियर डाक्टरहरू उपचारमा किन सङ्लग्न भएनन् ? यसमा अस्पतालको गम्भिर लापारवाही छ ।’

हाल मृतक भिमाकी आठ महिने नाबालिका दुधे छोरी आमाको बाटो कुरिरहेकी छन् । तर घटना जे भएपनि भिमा अब कहिल्यै फर्किने छैनन् । यसबारे सत्यतथ्य छानविन हुन जरुरी छ ।