पत्रकार महासंघ सुर्खेतको अधिवेशन सम्पन्न, आठ पत्रकार पुरस्कृत

सुर्खेत – नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको १२ औँ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा सुर्खेतमा कार्यरत आठ जना पत्रकार पुरस्कृत भएका छन् ।

आठ जना पत्रकारहरुलाई विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । १२ औँ अधिवेशन तथा साधारण सभाको अवसरमा वर्षेनी वितरण गर्दै आएको पुरस्कारहरु वितरण गरिएको महासंघले जनाएको छ ।

महासंघ सुर्खेत शाखाका सचिव ललितबहादुर बुढाका अनुसार महासंघले यसै वर्ष स्थापना गरिएको क्रियाशिल पत्रकारिता पुरस्कार शिलापत्र डटकममा कार्यरत ओमबहादुर शाहीलाई प्रदान गरिएको छ । यस्तै महासंघले युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका नविन सुवेदीलाई प्रदान गरेको छ ।

महासंघले कान्तिपुर टिभीका कमल पन्तलाई यस वर्षको वर्ष पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यस्तै स्काइ न्यूनका सम्पादक आकाशतारा बयक र नयाँपत्रिकाकर्मी रमेश रावललाई शान्ति तथा विकास पत्रकारिता पुरस्कार प्रदान गरेको छ । खानेपानी तथा सरसफाई पुरस्कारबाट पहिलो प्रेसकर्मी शेरबहादुर थापा र सत्यपत्रिकाकर्मी चन्द्रा कंडेललाई सम्मान गरिएको छ । यस्तै रेडियो भेरीमा कार्यरत संचारकर्मी डिलु रावतलाई स्वर्गीय नन्दगेलाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ। अधिवेशन होटल भ्याली भ्यू स्टे मा संचालन भएको थियो ।

महासंघको अधिवेशन तथा साधारण सभा उद्घाटन तथा पुरस्कार वितरण गर्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकारहरु राष्ट्रको सच्चा पहरेदार रहेको बताए । ‘राष्ट्रलाई वा जनतालाई कुनै समस्या आएको खण्डमा पत्रकारहरुले नै खबरदारी गर्नुपर्छ, पत्रकारहरु मुलुकको सच्चा सेवक र पहरेदार हुन्,’ उनले भने । मुलुकमा आएको परिवर्तनलाई दुरुपयोगलाई रोक्न पत्रकारहरुको निरन्तर खबरदारी गर्नुपर्ने प्रदेश प्रमुख परियारको भनाई छ ।