अनशनरत डा. केसीले स्वास्थ्य जाँच गर्न मानेनन् 

 जुम्ला – अनशनरत डा. गोविन्द केसीले धर्मशालाबाट अस्पताल ल्याएपछि कुनै पनि स्वास्थ्य जाँच गर्न मानेका छैनन । आफ्नो इच्छाविपरित चन्दननाथ नगरपालिका – ६ रानीचौरको मन्दिरको धर्मशालाबाट अस्पताल ल्याएकोले कुनै पनि स्वास्थ्य जाँच गर्न नमानेको उनका उपचारमा खटिएका चिकित्सक प्रविणकुमार गिरीले बताए ।

अनशनरत डा. केसीलाई यथासिघ्र सुरक्षित स्थान अस्पतालमा सार्न चिकित्सकको सुझाबको आधारमा प्रहरी शनिबार राति १० : ४५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियू कक्षमा राखिएको हो । चिकित्सक गिरीले भने, ‘शनिबारसम्म दिनको तीन पटक सामान्य स्वास्थ्य जाँच गर्दै आएका थियौँ ।

तर अस्पताल ल्यापछि आइतबारदेखि सवै खालको स्वास्थ्य जाँच लिन मान्नु भएको छैन ।’ प्रेसर, मुटुको गति, शरिरको तापक्रम, अक्सिजनको मात्र, पिसाबको मात्रा लगायत कुनै पनि जाँच गर्न नसकिएको उनले बताए ।

उनका अनुसार रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुदा सक्रमणको खतरा हुने संम्भावना रहन्छ । डा. केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डा. प्रविणकुमार गिरीको नेतृत्वमा डा. धिरज गुरुङ, डा. अनुपमंगल समाल र सविता थापालाई खटाएको अस्पताल निर्देशक डा मंगल रावलले बताए ।

२९ भदौँ देखि अनशनरत डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् । (हेल्थ आवाज)