जो बाँच्नका लागि अस्पताल पुगेका थिए, तर घर फर्कीएनन्…

लापार्वाही बढ्दै जादाँ घटना किन गुपचुप ?

घटना– १

२२ असोज २०७८ मा दैलेखको नारायण नगरपालिका– ४ की साढे दुई वर्षीया बालिका कसुम कटुवाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना भइन् । नाकमा मकैको दाना अड्किएर श्वासप्रश्वासमा समस्या आएपछि थप जटिलता नहोस् भनेर परिवारले जिल्ला अस्पताल दैलेख पुर्‍याएका थिए ।

तर, दैलेख अस्पतालमा उक्त मकैको दाना निकाल्ने औजार नभएपछि प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको थियो । परिवारका सदस्यले कुसुमको सहज उपचार हुने आशासहित प्रदेश अस्पताल पुर्‍याएका थिए । किन भने प्रदेश अस्पतालमा स्तरीय उपचार हुने दाबी गरिएको थियो । अस्पताल भर्ना गरिएकी कसुमलाई खासै समस्या नरहेको तर नाकमा अड्किएको मकैको दाना निकाल्न असहज भएको र आईसीयू खाली नभएको भन्दै अस्पतालले त्रिवि शिक्षण अस्पताल लैजान सुझाएको थियो ।

यद्यपि आईसीयू खाली भएमा प्रदेश अस्पतालमै उपचार हुने आश्वासन अस्पतालले दियो । अस्पतालको आश्वासनमा परेका परिवारले नजिकै उपचार हुन्छ भने किन काठमाडौं लैजाने भन्दै आईसीयू खाली हुने आशामा बसे । तर, २३ असोज २०७८ को राति कुसुमको उपचारमा संलग्न चिकित्सकहरूले अकस्मात् उनको मृत्युको घोषणा गरिदिए ।

एकछिनअघिसम्म बोलचाल गर्ने बालिकाको एक्कासि मृत्यु भएको खबर पाएपछि आफन्तहरू अचम्मित भए । डाक्टरको लापर्वाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध जनाए । तर, अस्पताल मान्न तयार भएन । आक्रोशित आफन्तले अस्पतालभित्रका भौतिक संरचना तोडफोड गरे । बालिकाको उपचारका क्रममा ओभर डोज औषधि प्रयोग गरिएको आफन्तको आरोप थियो । उतिबेला बालिकाको अप्रेसन गर्नुअघि बेहोस बनाउन लगाइने एनेस्थेसिया औषधिको मात्रा बढी दिएपछि मृत्यु भएको आफन्तको आरोप थियो ।

तर, अस्पतालले बालिकाका आफन्तले गरेको दाबीको प्रतिवाद गर्न न अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्यो, न त मृत्युको कारण नै । उतिबेला अस्पतालले बालिकाको मृत्यु प्रकरणमा कुनै पनि अनुसन्धान रिपोर्ट सार्वजनिक नै नगरी घटना थामथुम पारेको आफन्तले अझै पनि आरोप लगाउने गरेका छन् ।

घटना– २

२९ भदौ २०८० मा सुर्खेतको पञ्चपुरी नगरपालिका– २, स्थायी ठेगाना भई वीरेन्द्रनगर नगरपालिका– ४ मा बस्दै आएकी जानकी रेग्मीलाई सुत्केरी ब्यथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरियो । उनी सोही दिन प्रसूति वार्डमा सुत्केरी भइन् । सुत्केरी भएपश्चात् एक्कासि समस्या देखा परेपछि उनलाई अप्रेसन वार्डमा लगेर शल्यक्रिया गरियो । तर, ३१ भदौमा अस्पतालले उनलाई एक्कासि मृत्युको घोषणा गरिदियो ।

‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यतिबेलासम्म अवस्था सामान्य थियो,’ मृतक जानकीका ससुरा तिलकराम अधिकारी भन्छन्, ‘छोरालाई दूधसमेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासि बेहोस भइन्, अनि उनलाई आईसीयूमा राखियो । आईसीयूमा राखिएकी बुहारीलाई अस्पतालले एक्कासि मृत घोषणा गरिदियो ।’

बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापर्वाही प्रमुख कारण रहेको अधिकारीको बुझाइ छ । ‘प्रदेश राजधानीको सुविधासम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैँमा विडम्बना हो,’ उनी भन्छन्, ‘के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म पनि स्पष्ट जवाफ दिन सकेको छैन ।’

अस्पतालले सुत्केरी अवस्थामा गरिने अप्रेसनमा विरलै घट्ने नयाँ घटना भएको जवाफ दिए पनि अधिकारीले अस्पतालको लापर्वाहीले नै आफ्नी बुहारीको मृत्यु भएको दाबी गरे ।

घटना– ३

केही दिनअघि पश्चिम दैलेखको आठबिस नगरपालिका– ५, पीपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् ।

वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यसपश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् ।

बुधबार बिहानै उनी अस्पताल भर्ना भएकी उनी हिँडेरै अस्पताल पुगेकी थिइन् । अस्पतालमा चेकजाँच गराउँदा चार महिनाअघि प्रसूति गराउँदा बखत पाठेघरमा केही सालनाल रहेको चिकित्सकहरूले जानकारी दिए । भिमाको पेटमा केही महिनाको बच्चासमेत थियो ।

अप्रेसन गरेर पाठेघर सफा गर्नुपर्छ भनेका चिकित्सकले भिमालाई एक्कासि केही समयपछि नै मृत घोषणा गरिदिएपछि अहिले उनका आफन्तले चार दिनदेखि वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन् । घटनाको विरोधमा दैलेखको आठबिस नगरपालिका–५, स्थित कर्णाली राजमार्ग अवरुद्ध गरेर आन्दोलन जारी राखेका छन् ।

‘हामी बाहिर बसिरहेका थियौँ, एक्कासि शव बुझ्न भनेपछि हामी त अचम्मित भयौँ,’ उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइबुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’ अस्पतालले दिउँसो ३ बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिएको थियो ।

आफन्तहरूले डाक्टरहरूको लापर्वाहीका कारण नै उनको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् । ‘यो प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल कसका लागि र किन रु,’ जेठाजु हर्क बलामी भन्छन्, ‘तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवार डाक्टरहरूलाई बर्खास्तीसँगै कानुनी कारबाही पनि गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’

भिमाको मृत्यु भएसँगै अस्पतालमा प्रहरी परिचालन भएको छ भने परिवारले शव बुझ्न मानिरहेका छैनन् । उचित क्षतिपूर्तिसहित छानबिनको माग आफन्तहरूले वीरेन्द्रनगरस्थित यरी चोकमा आन्दोलन गरिरहेका छन् । भिमाको मृत्यु भएपछि करिब नौमहिने बालिकाको बिचल्ली भएको छ । मृतक भिमाका आफन्त शुक्रबारदेखि सडक आन्दोलनमा छन् ।

अस्पतालको लापर्वाहीले मृत्युवरण गरेको भनी आफन्तद्वारा आरोप लगाइएका प्रतिनिधिमूलक यी घटनाहरू स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट भनिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका हुन् । पछिल्लो समय कर्णालीको स्वास्थ्य मेरुदण्ड मानिएको प्रदेश अस्पताल विवादमा तानिदै जान थालेको विभिन्न समयमा हुने बिरामीको मृत्यु र आफन्तले लगाउने आरोपले पुष्टि गर्छ ।

उपचारका लागि अस्पताल आउने बिरामीको मृत्यु भएपछि आफन्तले लगाउने आरोपका सन्दर्भमा प्रदेश अस्पतालले त्यस्ता घटनामा अनुसन्धान गरी चित्तबुझ्दो जवाफ सार्वजनिक गर्न नसक्नु अस्पतालको ठूलो कमजोरी रहेको उपचारका क्रममा मृत्युवरण गरेकाहरूका आफन्तहरूले बताउँदै आएका छन् ।

के भन्छ अस्पताल ?

बिहीबार भएको घटनाका सन्दर्भमा अस्पतालले भिमाको मृत्युमा कुनै त्रुटि नरहेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । तर, आफन्तहरू अस्पतालको सो कुरा मान्ने पक्षमा देखिदैनन् । अस्पतालले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा शल्यक्रियामार्फत पाठेघर सफा गरेपछि ओरल प्रेग्नेन्सी अवस्थामा जटिल पल्मोनरी एम्बोल्सिम देखापरेपछि बचाउन नसकिएको जनाएको छ ।

‘रगत बग्ने समस्या लिई आउनुभएकोमा भिडियो एक्सरे गर्दा पाठेघरमा सालको ट्युमर देखिएको र सोको उपचारका लागि सोही दिन प्रसूति वार्डमा भर्ना गरी विशेषज्ञ चिकित्सकहरूको सल्लाहबमोजिम थप परीक्षण गरिएको अस्पतालले दाबी गरेको छ ।

‘गत २९ चैतमा १ पिन्ट रगत चढाएपश्चात् पाठेघर सफा गर्नका निम्ति अपरेसन थिएटर लगेर सफा गर्ने कार्य पनि सपन्न भइसकेको अवस्थामा बिरामीमा ओरल प्रेग्नेन्सीको एक गम्भीर जटिलता पल्मोनरी एम्बोल्सिम देखा परेको र सोको पहिचान गरी विशेषज्ञ चिकित्सकहरूको टिमले बचाउने भरमग्दुर प्रयास गर्दागर्दै सोही दिन महिलाको मृत्यु हुन गएको व्यहोरा जानकारी गराउँछौँ,’ अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

तर, बिरामीका आफन्तले अस्पतालको लापर्वाही नै भएको भन्दै छानबिन गरी उपचारमा संलग्न चिकित्सकलाई कारबाही, उचित क्षतिपूर्तिसहित बालिकाको सुरक्षा र पालनपोषणको पूर्ण व्यवस्था नभएसम्म मृतकको शव नबुझ्ने बरु सडक संघर्षलाई थप चर्काउने चेतावनी आफन्तहरूले दिँदै आएका छन् ।

यता प्रदेश अस्पतालले पीडित पक्षसँग छलफल गरी विवाद समाधान गर्ने प्रयास जारी रहे पनि निष्कर्ष निस्कन नसकेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए ।

‘पाठेघर सफा गर्न आउनुभएकी उहाँको एक्कासि जटिल समस्या देखापरेपछि बचाउन नसकिएको हो,’ उनले भने, ‘उहाँहरूले आन्दोलन गरिरहनुभएको छ, हामीले छलफलमार्फत विवाद समाधान गर्न खोजिरहेका छौँ, उहाँहरू उचित क्षतिपूर्ति, बालिकाको पालनपोषणको ग्यारेन्टी तथा उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग राख्नुभएको छ । यी सबै माग अस्पतालले पूरा गर्न सक्ने विषय पनि रहेन ।’

आफन्तहरूले अस्पतालका विरुद्धमा आन्दोलन चर्काउँदै जाँदा नियामक निकायले विवाद समाधानमा चासो नदिँदा आन्दोलन अराजकतातर्फ उन्मुख हुने जोखिम बढेको छ ।