ठेकेदार सांसद ‘कान्छाराम’ले सुरु गरे वीरेन्द्रनगरमा अलपत्र १५ सडक बनाउन

सुर्खेत – प्रतिनिधि सभा सदस्य तथा रामेछापका ठेकेदार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले वीरेन्द्रनगरमा अलपत्र १५ वटा सडक निर्माणको काम सुरु गर्नुभएको छ । निर्माण अलपत्र १५ वटै सडक निर्माणको ठेक्का ‘कान्छाराम’ ले लिएका थिए ।

प्रतिनिधि सभा सदस्य तथा निर्माण व्यवसायी ‘कान्छाराम’ ले ठेक्का सम्झौता मिति सकिएको एक वर्षपछि फेरी काम सुरु गर्नुभएको हो । कान्छाराम कन्ट्रक्शन प्रा.लि मार्फत २०७८ मा ठेक्का सम्झौता गरेका उहाँले २०७९ फागुन २० गतेभित्र कालोपत्रे सहित सबै सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने हो । तर कतै थोरै थोरै काम त कतै काम नै नगरी सडक निर्माण कार्य अलपत्र छोडेका थिए ।

सम्झौता मिति सकिनलाग्दा समेत निर्माणको काम अघि नबढेपछि पूर्वाधार विकास निर्देशनालय सुर्खेतले निर्माण कम्पनीको बैंक जमानत फिर्ता ल्याएपछि ठेकेदार ‘कान्छाराम’ले सडक बनाउन थालेका छन् । तर उहाँलाई आगामी जेठ महिनाभित्रै सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने चुनौती छ ।

ठेकेदार ‘कान्छाराम’ले आगामी वर्ष २०८१ को पुस मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप गरिदिन माग गरेका छन् । तर निर्देशनालयले आगामी जेठ १५ भित्रै काम सक्न ताकेता गरेको छ । निर्देशनालयले एक करोड १५ हजार रुपैंया बैंक जमानत समेत कार्यालयको खातामा फिर्ता ल्याएको छ । निर्देशनालयले बैंक जमानत फिर्ता ल्याएपछि कम्पनी कालो सूचीका लागि प्रक्रिया अघि बढ्ने त्रासले समेत ठेकेदार कान्छारामले सबै सडक निर्माणको थालनी गर्नुभएको हो ।

१५ वटै सडक निर्माणको ठेक्का पाएपछि ‘कान्छाराम’ ले शुरुमा काम त रफ्तारमै गर्छन की ? भन्ने चर्चा पनि भयो । उहाँले डिभिजन वन कार्यालय अगाडी, खारखोली टेलिकम सडक लगायतका ठाउँमा शुरुमा सन्तोषजनक काम पनि गरेका थिए । तर विस्तारै कान्छाराम कन्ट्रक्शनले ठेक्का पाएका सबै सडक अलपत्र पार्दै ठेकेदार ‘कान्छाराम’ समेत सम्पर्कविहिन बनेका थिए ।

कान्छारामले निर्माण जिम्मा पाएका सडकहरुको विभिन्न प्याकेजमा एक सय ११ मिटरदेखि सात सय ३० मिटरका सडक छन् । यी सडकको जम्मा लम्बाई पाँच हजार १४ मिटर अर्थात् पाँच दशमलब १४ किलोमिटर छ ।

१५ वटा सडक निर्माणका लागि कान्छारामले पूर्वाधार विकास निर्देशनलाय सुर्खेतसँग कुल १२ करोड ९४ लाख रुपैँयाको ठेक्का सम्झौता गरेका थिए । हालसम्म निर्माण गरिएका सडकको कामको मुल्यांकनका आधारमा एक करोड ९२ लाख भ्याटसहितको रकम भुक्तानी लिएका छन् । उहाँले काम सम्पन्न गरेको १२ लाख रुपैयाँ निर्देशनालयले दिन बाँकी थियो । तर उहाँ काम नै नगरेर सम्पर्कविहिन बन्नुभएको थियो ।

सडक अलपत्र छाडेपछि चौतर्फी आलोचना र दवाव बढ्दा निर्देशनलायले अन्तत अन्तिम बैंक जमानत फिर्ता सहित ठेक्का तोड्ने र कालोसूची प्रक्रियाका लागि सूचना जारी गरेको थियो । यस्तै कान्छारामले सडक अलपत्र पारेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा समेत उजूरी परेको छ । तर सडक निर्माण सम्पन्न भएकोृ भए कामको गुणस्तर कस्तो भयो भनेर अख्तियारले छानविन गर्न मिल्थ्यो । काम सम्पन्न गराउने दायित्व निर्देशनालयकै भएकाले अख्तियारले थप कारवाही अघि नबढाएको निर्देशनालयले जनाएको छ ।

यी हुन् निर्माण अलपत्र १५ सडक

अख्तियारमा परेको उजूरी र निर्देशनालयले ठेक्कातोडेर कालो सूची राख्ने प्रक्रियाथालेपछि ‘कान्छाराम’ले अहिले अलपत्र सडक बनाउन सुुरु गरेका हुन् । केही दिनयता तिब्र रुपमा सडक निर्माणको कामथालेको पूर्वाधार विकास निर्देशनालयका निर्देशक रामशरण आचार्य बताउनुहुन्छ ।

उहाँका अनुसार हाल ठेकेदारले नाला सम्पन्नभएका सडकको कालोपत्रेका लागि बेश विछ्याउने र नाला नै सुरु नगरिएका सडकको नाला निर्माणको काम गरिरहेका छन् । ‘कान्छाराम’ले ठेक्का लिएका सडकहरुमा डिभिजन वन कार्यालय अगाडीको सडक, खारखोली टेलिकम सडक, खारखोली हटलाइन सडक, इत्राम चोकदेखि जिल्लाप्रहरी कार्यालय अगाडीको सडक र जिल्ला अदालत–मुख्यमन्त्री–अख्तियार कार्यालय अगाडीको सडक रहेका छन् ।

यस्तै पूर्वाधार विकास निर्देशनालय अगाडीको सडक, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अगाडीको सडक, बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालय सडक, डीआईजी चौक–खारखोली सडक, कालिन्चोक–मिलनचोक सडक, खजुराको भित्रिमोडेल कलेज उत्तर–पश्चिम सडक, गण्डकी लाइन सडक, महिला छात्रावास–दैलेख रोड, लालुपाते उत्तरी र रत्न राजमार्ग शीतलनगर सडक रहेको निर्देशनालयले जनाएको छ ।

यी सडकहरुको नाला निर्माण गरेर, सब बेस र बेस राखेर जेठ १५ भित्र कालोपत्रे गरिने तयारी छ । यीमध्य केही सडकको काम आधा गरिएको छ भने केहीको काम नै सुरु भएको छैन ।

आगामी जेठ १५ सम्मको अन्तिम म्याद गरी सबै योजना सम्पन्न गर्न ताकेता दिएको निर्देशक रामशरण आचार्य बताउनुहुन्छ । ‘सडकको नाला निर्माण, फिलिङ गर्ने लगायतका काम भइरहेका छन’ उहाँले भन्नुभयो, ‘अब निर्माण अलपत्र सबै सडक छिटै कालोपत्रे बनाउने तयारीका साथ हामी पनि लागिपरेका छौं ।’