काठमाडौँ – संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ समूहबीचको विवाद नागरिक उन्मुक्ति पार्टीमा उग्र रुप लिएको छ।
खासगरी फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई लिएर चर्किएको विवादले सोमबार उग्र रुप लियो।
सोमबार काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको छ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेको रञ्जिता पक्षबीचको विवादले बैठकमा कुटाकुटको अवस्था ल्याएको हो।
आइतबार अनामनगरमा बसेको उक्त बैठकका क्रममा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको छ। कुटपिट गरिएका दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन्।
अध्यक्ष रञ्जिता र संस्थापक रेशमबीचको विवादले पार्टी फुटको संघारमा पुगेका बेला दुई पक्षबीच कुटाकुट भएको हो।
पार्टी केन्द्रीय कार्यालय अनामनगरमा कुटाकुट हुनुअघि दुई पक्षबीच सुदूरपश्चिम सरकारमा सहभागी हुने र नहुने विषयमा चर्को विवाद भएको थियो।
रञ्जिता पक्ष संघीय सरकारमा सहभागी हुँदै सुदूरपश्चिमको मुख्यमन्त्री लिने गरी नयाँ गठबन्धनमा मिसिने पक्षमा उभिएको छ। उता रेशमलाल भने संघमा प्रतिपक्षमा बस्दै सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारालई निरन्तरता दिनुपर्ने अडानमा छ।
यस्तोमा अनामनगरमा बसेको बैठकका क्रममा रञ्जिता पक्षका दुई नेता कुटिएका हुन्। कुटपिट भएपछि रञ्जिता पक्षले बैठकस्थल नै छाडेर हिँडेको छ।
टीकापुरका मेयर भन्छन् : हामी भागेर हिँड्यौँ
बैठकस्थलमै कुटपिटको अवस्था आएपछि अहिले रञ्जिता पक्षका ५ जना नेताहरू त्यहाँबाट बाहिरिएका छन्।
‘अनामनगरको बैठकमा हामी ५ जना सहभागी थियौँ। बैठकमा नै हाम्रो टिमलाई नै आक्रमण गरिएको हो’, टीकापुरका मेयर रामलाल डगौराले नेपालखबरसँग भने, ‘मसहित साथी रमेश विकमाथि आक्रमण भयो। हामी टीकापुर महाधिवेशनको सन्देश र निर्वाचन आयोगको निर्णयअनुसार अघि बढ्नुपर्ने पक्षमा थियौँ। रेशमजीलाई अध्यक्षको मान्यता नदिएको अवस्थामा निर्वाचन आयोगको निर्णयअनुसार चल्नु पर्ने कानुनी बाध्यता पनि छ। त्यही कुरा हामीले राख्दा बैठकमै आक्रमण गरियो।’
डगौराले आफूहरू सुदूरपश्चिममा मुख्यमन्त्री लिएर नयाँ गठबन्धनमा जोडिनुपर्ने पक्षमा रहेको बताए। ‘हामी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहितको एजेन्डा लिएर अघि बढ्ने पक्षमा छौँ। तर रेशमजीले मन्त्री लिएर पुरानै गठबन्धनमा जाऔँ भन्नु भयो। तर हामीले नयाँ समीकरण बनेकोले पार्टी पनि पश्चगमनमा होइन अग्रगमनमा जानुपर्छ भन्ने अडानमा छौँ।’ – nepalkhabar