१३२ केभीए प्रसारण लाइन : सुरु भयो रुख कटान प्रक्रिया

सुर्खेत – कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । विद्युत प्रसारण लाइन आयोजनाको कार्यालयका अनुसार रुख कटानका लागि छपान कार्य सकिएको छ ।

विद्युत प्रसारण लाइन विस्तार गर्न लामो समयपछि रुख कटान प्रक्रिया सुरु भएपनि जग्गा विवाद प्रशंग भने कायमै छ । आयोजनाले विद्युत प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार दुई सय ३६ वटा रुख काट्ने अनुमति पाएको हो ।

२०७९ असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रुखमा छपान कार्य सकिएको छ ।

आयोजना प्रमुख रवि चौधरीका अनुसार विद्युत विस्तारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान गरिने भएको छ । ‘रुख छपान सकियो अब कटानको फाइल प्रमाणित भएर आउनेबित्तिकै रुख काटिने छन्’ उनले भने, ‘सरकारले रुख कटानका लागि दिइएको अनुमति र आयोजनाले गरेको रुख छपानको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरिएको छ ।’

उनका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० रुखहरूमा छपान गरिएको छ । सरकारले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ६ हजार दुई सय ३६ रुख कटान अनुमति दिइएको हो । अहिले ती रुखहरूमा छपान गरेर विभागमा विवरण पेस गरेको छ । विवरण प्रमाणित भए अबको केही दिनमा रुख कटान हुन्ेछ ।

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । आयोजनाको ७० प्रतिशत प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । २०८० चैतमा आयोजनाको सम्झौता सकिँदैछ । तर ६ महिना म्याद थप गरेर आयोजनाको काम अघि बढाइने आयोजनाले जनाएको छ ।

‘अझै ३० प्रतिशत काम बाँकी नै रहेकाले म्याद थप गरेर काम अघि बढाइने तयारी छ’ आयोजना प्रमुख चौधरीले भने, ‘रुख कटान अनुमतिका कारण काममा ढिलाइ भएको हो । तर तिब्र गतिमा समयमै सम्पन्न हुनेगरी काम गर्ने तयारी छ ।’

विद्युतको प्रुसारण लाइ विस्तारका लागि भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्का लिएको छ । उसले ७० करोड रूपैयाँमा ठेक्का पाएको आयोजनाको कार्यालयले जनाएको छ । हालसम्म आयोजनाले एक सय पाँच वटा फाउण्डेशन निर्माण गरेको छ । भने दश वटा फाउण्डेशन निर्माण भइरहेका छन् ।

यस्तै २२ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
जग्गा विवाद कायमै

आयोजनाको प्रसारण लाइन विस्तार क्षेत्रमा रहेका रुख कटान अनुमति पाएपनि जग्गा विवाद भने कायमै रहेको छ । सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद समाधानका लागि सरोकारवालासँग छलफल पनि गरिएको थियो । तर अहिलेसम्म विवाद समाधान हुन सकेको छैन ।

विद्युत लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ ।
तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयले आफ्नो खाली जग्गामा समेत पोल हाल्न नदिएका हुन् ।

पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । आयोजना कार्यालय उचित मुआब्जा दिएर विवाद समाधान गर्न तयार छ । तर स्थानीयले नमानेका कारण समस्या भएको हो ।
दोस्रो खण्डको निर्माण कार्य सुरु

एक सय ३२ केभिए प्रसारण लाइन विस्तारका लागि सुर्खेत–दैलेख दोस्रो खण्डको निर्माण कार्य सुरु भएको छ । दोस्रो खण्डअन्तर्गत सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म विद्युत विस्तारको काम सुरु गरिएको हो ।

आयोजना प्रमुख चौधरीका अनुसार दोस्रो खण्डमा डिजाइन, सर्वे, माटो परीक्षण लगायतको काम सम्पन्न भएको छ । २०८० वैशाखमा ठेक्का सम्झौता गरी दोस्रो खण्डको काम थालिएको उनले बताए । उनका अनुसार २०८२ वैशाखसम्म निर्माण सम्पन्न गर्नेगरी दोस्रो खण्डको काम थालिएको हो ।

दोस्रो खण्डको कामका लागि ७५ करोडमा ठेक्का सम्झौता गरिएको छ । डिजाइनको काम सकिएकाले अब फाउण्डेशन निर्माण कार्य सुरु गरिने आयोजनाले जनाएको छ ।