वर्तमान संविधान अग्रगामी परिवर्तन : कलौनी

सुर्खेत – कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले वर्तमान संविधान अग्रगामी परितवर्तन भएको बताउनु भएको छ । पाँचौ संविधान एवम् राष्ट्रिय दिवसको विशेष समारोहमा बोल्दै कलौनीले यस्तो बताउनु भएको हो ।

सबै प्रकारका विभेदको अन्त्य र सहभागीतामूलक लोकतन्त्र संविधानको मूलमर्म भएको उहाँको भनाई थियो । संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य दिँदै कलौनीले समृद्ध कर्णाली र सुखारी कर्णालीवासीको लक्ष्यमा पुग्न आजको दिन महत्वपूर्ण हुने अपेक्षा गर्नुभयो ।


यसैगरि कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले नेपाली जनताको बलिदानी, त्याग र संघर्षबाट प्राप्त भएको संविधानबाट राष्ट्रले ठूलो आशा गरेको बताउनु भयो । जनअपेक्षा अनुसार संविधान कार्यान्वयन हुन सके नसकेको बारेमा सबैले आत्मसमीक्षा गर्नुपर्ने उहाँको भनाई थियो । संविधानमा कसैको विमति भएपनि सामूहिक प्रयासबाट उहाँहरुलाई बुझाउनु पर्ने नेतृत्वको दायित्व भएको बताउँदै समाजवादमा पुग्ने राष्ट्रिय लक्ष्य अनुसार अहिलेको निर्वाचन प्रणालीका बारेमा बहस गर्न आवश्यक छ उहाँले भन्नुभयो ।


विशेष समारोहका अध्यष एवम् कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले यो संविधान शहिदको रगतले लेखिएको बताउनु भयो । जनताले बनाएको संविधान जनताको संविधान भएकोले यो ऐतिहासिक संविधान भएको बताउँदै यो संविधानसम्म आइपुग्दा भएका अनेक संघर्ष, बलिदान र त्यागलाई सम्झदैसंघीयता, लोकतन्त्र र गणतन्त्र वर्तमान संविधानका प्रमुख विशेषता भएको उहाँको भनाई थियो ।

वर्तमान संविधानले समाजवादमा पुग्नका लागि बाटो प्रसस्त गरेकोले तीनै तहका सरकारले काम गर्दै समाजवादमा पुग्नु पर्ने उहाँको भनाई थियो । आवश्यकता अनुसार यसलाई संशोधन गर्न सकिने भएकोले सर्वमान्य संविधान बनाउन सकेकोमा गर्वको महसुस भएको ज्वालाले बताउनु भयो । उहाँ संविधान सभा सदस्य समेत हुनुहुन्छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश मन्त्रालयका सचिवहरु, प्रशासकहरु समेतको उपस्थिति रहेको थियो ।