उच्च दवावकाबिच मेयर ढकालको अडानमा डोजर चल्यो, भत्काइए संरचना

सुर्खेत –  सुर्खेतको वीरेन्द्रनगरमा सरकारी जग्गाभित्र बनेका व्यवसायिक संरचना खालि गराउन नगरपालिकाले डोजर चलाएको छ । नगरपालिकाले सरकारी जग्गाभित्र बनेका एक सय २५ वटा व्यवसायिक संरचनाहरु डोजर चलाएर खालि गराएको छ ।

उच्च राजनीतिक दवावकाबिच मेयर मोहनमाया ढकालको अडानमा नगरको जग्गा फिर्ता ल्याउन डोजर चलाइएको हो । अतिकम भाडा कबुल गरी जग्गा भाडामा लिएर आफूखुशी संरचना बनाई व्यवसायिक प्रयोजनमा लगाएर मोटो रकम असुल्ने विचौलियाको हातबाट जग्गा फिर्ता ल्याउन डोजर चलाउनुपर्ने बाध्यता आएको मेयर ढकाल बताउनुहुन्छ ।

गत वर्ष ३२ जेठ महिनामै संरचना हटाउने निर्णय गरेको नगरपालिकाले व्यवसायीहरुको माग अनुसार झण्डै एक वर्षसम्म निर्णय कार्यान्वयन गरेको थिएन । संरचना खालि गराउन दिइएको लामो समयसम्म पनि व्यवसायीले अटेर गरेपछि १८ माघमा संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना समेत जारी गरिएको थियो ।

सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्षसमेत रहनुभएकी मेयर ढकालले नगर विकास समितिको स्वामित्व भित्रका सरकारी जग्गामा निर्माण गरिएका अस्थायी संरचनाहरु खालि गराएर त्यसलाई पार्किङको रुपमा विकास गरिने बताउनुभयो ।

‘वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेसँगै पार्किङको समस्या बढ्दै जान थालेको दृष्टान्तलाई ध्यानमा राख्दै समितिले सार्वजनिक जग्गा संरक्षणको नीति लिएको थियो’ उहाँले भन्नुभयो, ‘सोही बमोजिम नगरपालिकाको सहरी गुरुयोजना तयार गरी व्यवस्थित हरित शहर निर्माणका लागि समितिको मातहतमा रहेका जग्गाहरु खाली गराउने छौं ।’

नगरपालिकाले ती क्षेत्रका संरचनाहरु हटाएसँगै साढे दुई विगाह जग्गा समितिको मातहतमा आएको छ । यस अघि मेयर ढकालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलले व्यवसायिक भाडामा लगाएका सटरहरु खालि गराएर सरकारी जग्गा खालि गराउने अभियानको थालनी गर्नुभएको थियो ।