सुर्खेतमा फेरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने

सुर्खेत – सुर्खेतमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएको छ । आगामी चैत्र १ गते देखि सुरु हुने अभियानमा कोरोना भाइरसको बुस्टर डोज लगाउन छुटेकालाई समेट्ने लक्ष्य छ ।

जसमा विशेष गरी १२ वर्ष माथिको उमेर समूहलाई समेटिनेछ । बुधबार वीरेन्द्रनगरमा आयोजित कोभिड १९ विरुद्धको खोप कार्यक्रमका लागि जिल्ला खोप समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमका अनुसार कोरोनाको बुस्टर डोजको कम कभरेज भएका पालिकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोरोना–१९ विरुद्धको फाईजर खोप अभियान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, पञ्चपूरी नगरपालिका, चौकुने गाँउपालिका र चिगांड गाँउपालिकामा १ चैतदेखि ३ गतेसम्म सञ्चालन हुनेछ ।

अभियानमा यी पालिका अन्तर्गत पर्ने स्वास्थ्य संस्थामा ४४ वटा खोप केन्द्रमार्फत १९ हजार ८ सय डोज फाइजर खोप लगाइने छ । जसका लागि चार वटै स्थानिय तहमा ३ हजार तीन सयका दरले खोप पठाइएको छ । ‘यो अभियान अन्तर्गत कोरोनाको कुनै पनि डोज नलिएकालाई विशेष प्राथमिकतामा राखिएको कार्यालयले जनाएके छ ।

यसका अलवा पहिलो र दोस्रो डोज लिएका तर, बुस्टर डोज लिन छुटेकाहरु पनि अभियानमा समावेश हुनेछन्, । यसअघि विविध कारणले छुट्नु भएका सबैलाई यस अभियानमा जोड्ने लक्ष्य छ । सुर्खेत जिल्लामा कोभिड १९ विरुद्धको पहिलो डोज ९१ दशमलव ६ प्रतिशत, दोस्रो डोज ८० दशमलव ९ प्रतिशत नागरिकले लगाएका छन् । त्यस्तै, पहिलो बुस्टर ३६ दशमलव ८ प्रतिशत र दोस्रो बुस्टर १ दशमलव ४ प्रतिशत नागरिकले मात्रै लगाएका छन् ।