यी हुन् भ्रष्टाचार मुद्दा लागेका सिम्ताका पूर्वअध्यक्ष केसीसहित ११ जना

सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाइटेक नर्सरी निर्माणमा बदमासी गर्ने सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसीलसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार आयोगले जिल्लाको सिम्ता गाउँपालिका–५ को उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रमको रकम भुक्तानीमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआएको अवस्थामा अध्यक्ष केसीसहितका ११ जनाले ८४ लाख ८६ हजार ६ सय ४२ रुपैयाँ भुक्तानी दिएर अनियमितता गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सुर्खेतको सिम्ता गाउँपालिका– ५ स्थित आली भन्ने स्थानमा निर्माण भएको हाइटेक नर्सरीमा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल, तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्री, सिम्ता सब–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकार र भोजप्रसाद उपाध्याय, सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रका थापा, उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल, नाफ सिड्स प्रालिका सञ्चालक गौतम महर्जन र सिम्ता गाउँपालिका–५ का तत्कालीन वडाध्यक्ष मोहनकुमार बीसी रहेका छन् ।