मेरुदण्डको समस्याले थलिएका बाल्मीकीलाई एक लाख सहयोग

सुर्खेत – मेरुदण्डको समस्याले थलिएका वीरेन्द्रनगर नगरपालिका–१ गैरागाउँका ६० वर्षिय जल्लु बाल्मीकीको उपचारका लागि एक लाख एक हजार चार सय ९० रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

युवा अभियान्ता एवं समाजसेवी महेन्द्र थापा ‘मानवसेवा’ को नेतृत्वमा चलेको सहयोग अभियानबाट उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको हो । शनिवार अभियान्ता थापासहितको टोलीले बाल्मीकीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

अभियान्ता थापाको नेतृत्वमा चन्द्रप्रकाश सापकोटा, मानबहादुर चौधरी लगाएतको टोलीले बाल्मीकीको उपचारका लागि सहयोग रकम संकलन अभियान थालिएको थियो । मेरुदण्डको पक्षघात जस्तो प्राणघातक रोगबाट ग्रसित बाल्मीकीको उपचारका लागि सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको अभियान्ता थापाले बताए ।

‘उहाँ मेरुदण्डको पक्षघात जस्तो प्रणघातक रोगबाट थलिनुभएको छ, घरपरिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, नियमित उपचार तथा साँझविहानको छाक टार्न समेत हम्मेहम्मे परिरहेको छ,’ थापाले भने । कर्णाली प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी लगाएत मनकारी व्यक्तिहरुबाट सहयोग रकम संकलन गरिएको थापाले बताए । उनले बाल्मीकीको उपचारका लागि मनकारी व्यक्तिहरुबाट थप सहयोगको पनि आग्रह गरेका छन् ।

बाल्मीकी विस २०४० ताका नेपालगंजबाट सुर्खेत आएका थिए । सुर्खेत आएर उनले सुर्खेत शिक्षा क्याम्पसमा कार्यालय सहयोगीको रुपमा काम गरेका थिए । त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत हुँदै कर्णाली प्रदेश अस्पतालमा २६ वर्ष सेवा गरेका थिए । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा सेवा गरेका बाल्मीकी झण्डै एकवर्ष अघि अवकास पाएका थिए । अवकास पाएपछि ज्यालामजदुरी गरेर घरपरिवारको खर्च धान्दै आएका बाल्मीकी थला परेपछि बिचल्लीमा परेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बाल्मीकीले भने ‘लामो समय सुर्खेतको सेवा गरेँ, अहिले रोगले थला परेको छु, मेरो यस्तो अवस्था देखेर सहयोग गर्ने सहयोगी व्यक्तिहरुलाई धन्यवाद छ ।’ मेरुदण्डको पक्षघातसँग लडिरहेका बाल्मीकीले आफ्नो उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।