कर्णालीका एक लाख बढि बालबालिकालाई खोप लगाइदै, सुर्खेतमा तयारी पुरा

सुर्खेत – कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार फागुन १३ देखि चैत ७ सम्म सो खोप लगाइने छ । आठ जिल्लाका झन्डै दुई हजार खोप केन्द्रबाट खोप लगाइने छ । १२५ बालबालिका बराबर एक स्वास्थ्यकर्मीले खोप लगाउने छन् । युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीका अनुसार रुकुमपश्चिम र जाजरकोटमा भूकम्पपछि पुसमा दादुरा रुबेलाको खोप लगाइसकिएकाले यस पटक ती दुई जिल्लाबाहेक कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो खोप लगाइने छ ।

लक्षित समूहले अधिक खोप लगाउनका लागि विभिन्न गतिविधि गरिने जनाइएको छ । अभिभावकलाई खोप लगाउन निमन्त्रणा कार्ड पठाइने, खोप लगाएपछि खोप कार्ड वितरण गरिने, ब्यानरलगायतका प्रचार गर्ने, माइकिङ गर्ने, धामीझाँक्रीसँग पत्राचार गर्ने, धेरै प्रश्न सोधेर जानकारी गराउने योजना छ । दादुरा–रुबेला निकै जोखिमपूर्ण रोग भएकाले एक जनाबाट १८ जनामा सङ्क्रमण सर्न सक्ने उहाँको भनाइ छ । यस खोपको कुनै असर नहुने, पहिले लगाएकाले पनि पुनः लगाउन मिल्ने जनाइएको छ । बढी कुपोषित भएका, उच्च ज्वरो आएको बालबालिकालाई भने यो खोप लगाउन हुँदैन ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार ‘खोज र खोप’ रणनीतिबमोजिम सन् २०२६ भित्र नेपालमा दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ ।

उनले कर्णालीमा पूर्ण खोपको कभरेज ८५ प्रतिशत रहेको र अन्य जिल्लामा खोप लगाउन छोड्ने दर पनि कायमै रहेको बताए । भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, कहिल्यै खोप नलगाउने राउटे समुदायका कारण पूर्ण खोपको चुनौती खेप्नु परेको उनको भनाइ छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन अधिकृत देवीराम पौडेलले कर्णालीका आठ जिल्लामा १३ हजार ४५३ भाइल दादुरा–रुबेलाको खोप सम्बन्धित जिल्लामा आपूर्ति गरिसकिएको बताए । एक भाइलमा १० डोज हुन्छ । यस्तै एक लाख ३४ हजार पाँच सय सिरिन्ज र १४ हजार ९३६ घोलक पनि पठाइसकिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका डा. तारा बानियाँले नयाँ आप्रवास बस्ती, सुकुमवासी बस्ती, राउटे, कुसुन्डालगायतका बालबालिका खोपबाट छुटेका हुँदा तिनलाई पनि खोपको दायराभित्र ल्याउन आह्वान गर्नुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले खोप अभियान सफल बनाएपछि मात्रै नेपालको खोपको प्रतिशत दर वृद्धि हुने बताइन।

यता हिमाली जिल्लाका स्वास्थ्यकर्मीलाई नियमित खोप लगाउन हिमपातका कारण कठिन भएको छ । हिउँको जोखिमसँगै स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन् । एक वर्ष तीन महिनाभित्र बालबालिकालाई लगाउनुपर्ने खोप लगाउन हिमपातका कारण समस्या परेको छ ।

सुर्खेतमा फागुन १३ देखि २५ गतेसम्म, तयारी पुरा

सुर्खेतमा फागुन १३ गतेदेखि २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो।

पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ गतेसम्म ४ वटा पालिकामा दादुर रुबेला खोप सम्बन्धि अभियान सञ्चालन हुने जनस्वास्थ्य निरिक्षक घनश्याम बुढाले बताए ।

उनका अनुसार पहिलो चरणमा भेरीगंगा, लेकबेसी र गूर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ। भने दोस्रो चरणमा वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकामा खोप अभियान संचालन गरिनेछ ।

जनस्वास्थ्य सेवा कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहहरूमा गरि ९ महिनादेखि ५ वर्ष मूनीका करिब ३२ हजार बालबालिकालाई दादुरा रुबेला लगाइने योजना बनाएको छ। कार्यालयले यस अघि खोप लगाउन छुटेका बालबालिकालाई खोजेर पनि लगाइने जनाएको छ।

यस्तै, दादुरा रुबेला खोप अभियानलाई नेपाल सरकारले राष्ट्रिय खोप अभियानका रुपमा सन् २०२३ सम्म दादुरामुक्त नेपाल घोषणा गर्ने भनिएको थियो। तर, सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म उक्त लक्ष्य राखिएको छ। खोप अभियानमा खटिने जिल्लाभरका दुई २२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप सम्बन्धि अभिमूखीकरण तालिम पनि दिइएको छ।

सुर्खेतका ९ वटै स्थानीय तहमा रहेका खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई पालिका स्तरको अभिमुखीरकण दिइएको हो । यस्तै पालिका स्तरका स्वास्थ्य शाखा प्रमुखहरूले खोप सम्बन्धि सम्पूर्ण जानकारी समेत जनस्वास्थ्य कार्यालयमा पठाएका छन् ।

कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा ९५ प्रतिशत भन्दामाथि खोप कभरेज हुने अनुमान गरिएको बताए । बालबालिकाहरूलाई अकालबाट बचाउनका लागि खोपले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । त्यसैले सबैलाई यो दादुरा रुबेला खोप अभियानमा समावेशन हुनका लागि आह्वान गरिएको छ । खोप पूर्ण रुपमा निःशुल्क र सुरक्षित रहेको छ ।

यस्तै, जिल्लाभर खोप अभियानका लागि ५०७ वटा खोप केन्द्र तोकिएका छन्। १२५ जना बालबालिकालाई खोप लगाउन एक जना स्वास्थ्यकर्मीसहित दुई जना स्वयंसेविका गरेर तीन जना कर्मचारी खटिने कार्यालयले जनाएको छ।