सुर्खेतमा दादुरा रुबेलाविरुद्धको खोप अभियान दुई चरणमा हुने

सुर्खेत – सुर्खेतमा फागुन १३ गतेदेखि २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो।

पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ गतेसम्म ४ वटा पालिकामा दादुर रुबेला खोप सम्बन्धि अभियान सञ्चालन हुने जनस्वास्थ्य निरिक्षक घनश्याम बुढाले बताए ।

उनका अनुसार पहिलो चरणमा भेरीगंगा, लेकबेसी र गूर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ। भने दोस्रो चरणमा वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकामा खोप अभियान संचालन गरिनेछ ।

जनस्वास्थ्य सेवा कार्यालयले जिल्लाका ९ वटा स्थानीय तहहरूमा गरि ९ महिनादेखि ५ वर्ष मूनीका करिब ३२ हजार बालबालिकालाई दादुरा रुबेला लगाइने योजना बनाएको छ। कार्यालयले यस अघि खोप लगाउन छुटेका बालबालिकालाई खोजेर पनि लगाइने जनाएको छ।

यस्तै, दादुरा रुबेला खोप अभियानलाई नेपाल सरकारले राष्ट्रिय खोप अभियानका रुपमा सन् २०२३ सम्म दादुरामुक्त नेपाल घोषणा गर्ने भनिएको थियो। तर, सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म उक्त लक्ष्य राखिएको छ। खोप अभियानमा खटिने जिल्लाभरका दुई २२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप सम्बन्धि अभिमूखीकरण तालिम पनि दिइएको छ।

सुर्खेतका ९ वटै स्थानीय तहमा रहेका खोप लगाउने स्वास्थ्यकर्मीहरुलाई पालिका स्तरको अभिमुखीरकण दिइएको हो । यस्तै पालिका स्तरका स्वास्थ्य शाखा प्रमुखहरूले खोप सम्बन्धि सम्पूर्ण जानकारी समेत जनस्वास्थ्य कार्यालयमा पठाएका छन् ।

कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा ९५ प्रतिशत भन्दामाथि खोप कभरेज हुने अनुमान गरिएको बताए । बालबालिकाहरूलाई अकालबाट बचाउनका लागि खोपले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । त्यसैले सबैलाई यो दादुरा रुबेला खोप अभियानमा समावेशन हुनका लागि आह्वान गरिएको छ । खोप पूर्ण रुपमा निःशुल्क र सुरक्षित रहेको छ ।

यस्तै, जिल्लाभर खोप अभियानका लागि ५०७ वटा खोप केन्द्र तोकिएका छन्। १२५ जना बालबालिकालाई खाेप लगाउन एक जना स्वास्थ्यकर्मीसहित दुई जना स्वयंसेविका गरेर तीन जना कर्मचारी खटिने कार्यालयले जनाएको छ।