सल्यानका किसानलाई बाँदर धपाउने यन्त्र बाँडियो

सल्यान – किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि सल्यानको कुमाख गाउँपालिकाका विभिन्न वडाका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ।

किसानले लगाएको बालीनालीमा बाँदर आएर नोक्सानी गर्न थालेपछि किसानहरुको आग्रहमा कुमाख गाउँपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो।

कालिका इन्जिनियरिङ वर्कशपले उत्पादन गरेको यन्त्र पालिकाको वडा नं २ र ४ का ६० जना किसानलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

बस्तीमा बाँदर आएर किसानहरुले लगाएको बाली नष्ट गर्न थालेपछि किसानहरुको आग्रहमा यन्त्र वितरण गरिएको कुमाख गाउँपालिका(२ का वडाध्यक्ष इश्वरी शाहीले जानकारी दिए।

बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदा मेसिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने उनको भनाई छ।

यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ। बाँदर धपाउने यन्त्र पाएपछि बाँदर धपाउन सहयोग पुग्ने विश्वास किसानले लिएका छन्।

बाँदरले क्षति गर्ने क्षेत्र हेरेर वडाका सबै किसानलाई लाभ मिल्ने गरी यन्त्र वितरण गरिएको वडा नं ४ का वडाध्यक्ष शोभीलाल बस्नेतले बताए।