४५ वर्षीयालाई जबरजस्ती करणी गर्ने २० वर्षीय युवक पक्राउ

काठमाडौं – प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा हुम्ला र भोजपुरबाट दुईजनालाई पक्राउ गरेको छ। हुम्लामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदानचुली गाउँपालिका-३ गोरपाली बस्ने २० वर्षीय हर्क बुमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बुमीले ती महिलालाई सोही गाउँपालिका-४ स्थित रिल्मा बनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

त्यस्तै, भोजपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। दुवै घटनामा संलग्नमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।