कामै नगरी २९ लाखभन्दा बढी भुक्तानी

सुर्खेत – दुई करोड ५० लाखको खाना र खाजा खाएको कालिकाेटकाे नरहरिनाथ गाउँपालिकाको अर्को कैफियत देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले निकालेको प्रतिवेदन अनुसार कामै नगरी नौ वटै वडासचिवका नाममा गाउँपालिकाले विभिन्न ३८ वटा आयोजनाको भुक्तानी दिएको छ ।

विभिन्न आयोजना मर्मतका नाममा गाउँपालिकाका नौ वटै वडासचिव तथा गाउँपालिकाका कर्मचारीका नाममा २९ लाख ३९ हजार ३० रुपैयाँ भुक्तानी दिएका हुन् ।

खानेपानी मर्मत, घोरेटो बाटो मर्मत र केही नयाँ आयोजनाका नाममा वडासचिवको खातामा २९ लाख ३९ हजार ३० भुक्तानी दिएर कामै नगरी यो रकम हजम गरेका हुन् ।

नरहरिनाथ गाउँपालिका वडा नंं। १ को बीरखम्म प्रतीक्षालय निर्माणका नाममा वडासचिव उदयराम विष्टका नाममा दुई लाख ७२ हजार १४८ रुपैयाँ भुक्तानी गरेको भए पनि ५४ हजार रुपैयाँ मात्रै पाएको स्थानीय उपभोक्ता समितिले बताएको छ ।

प्रतीक्षालय निर्माणका लागि वडामा ६० हजार रुपैयाँ आएको भए पनि वडाले कन्सल्टेन्सीका लागि रकम काटेर उपभोक्ता समितिलाई ५४ हजार नगद दिएको उपभोक्ता समितिका एक सदस्यले बताए ।

‘हामीले काम गरेको दैनिक ज्याला ३२० रुपैयाँ मात्रै पायौँ । प्रतीक्षालय निर्माण गर्दा जनश्रमदान र चन्दा उठाएका थियौँ’ उनले भने, ‘अहिले महालेखाको प्रतिवेदनमा दुईलाख ७२ हजार १४८ भुक्तानी सचिवका नाममा भएको देखाएको छ ।’

त्यस्तै, टोप्रा भेराभिर घोरेटो बाटो मर्मतका नाममा वडा नं। ५ का सचिव पर्वबहादुर सहकारीका नाममा ९५ हजार भुक्तानी भएको देखिएको छ । तर, त्यो बाटो मर्मत नै नभएको एक पूर्व वडासदस्यले बताए ।

‘मैले साउनमा नै तपाईंलाई काम नगरी रकम भुक्तानी भएको छ । यो विषयमा समाचार लेख्नुहोस् भनेको थिए’ उनले भने, ‘अहिले आएर महालेखाले लेखेपछि थाहा पाउनु भयो रु’ ती पूर्ववडासदस्यले प्रश्न गरे ।

त्योबेला वडाध्यक्ष मानबहादुर सहकारीलाई सम्पर्क गर्दा उनले त्यसरी कुनै रकम भुक्तानी नभएको बताएका थिए । त्यसरी रकम गएको भए आफू कानुनअनुसार सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।

अहिले नरहरिनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नौ जना वडाध्यक्षसहित २२ जना काठमाडौंमा छन् ।