कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि

सुर्खेत –  कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । बुधबार पुष्टि भएकाहरुमध्य चार विद्यार्थी, तीन सुरक्षाकर्मी, दुई निजामति तथा एक जना इन्सेकका कर्मचारीसहित ५१ जना रहेका छन् ।

प्रदेश अस्पताल/पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४९, चौरजहारी र दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा एक / एक जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

उनकाअनुसार आज पुष्टि हुनेमा वीरेन्द्रनगरका १३, सल्यान बनगाडकुपिण्डे नगरपालिकाका ३३, दैलेख नारायण तथा दुल्लु नगरपालिकाका, जाजरकोट जुनिचाँदे गाउँपालिकाका, उदयपुर बेलाका नगरपालिकाका र रुकुमपश्चिम चौरजहारी नगरपालिका एक/एक जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या एकहजार ९१४ पुगेको छ ।

३५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । दुईसय ६२ ओटा आइसोलसन रहेको कर्णालीमा हालसम्म डिस्चार्ज हुनेको कुल संख्या दुई हजार ६०५ पुगेको कंडेलको भनाई छ । नयाँ संक्रमितसहित आइसोलेसनमा रहेका र रहने क्रममा रहेका संक्रिय विरामीको संख्या तीनसय तीन रहेको कंडेलले जनाए ।