सुर्खेतमा यातायात व्यवसायीबीच झडप, २ जना घाइते

सुर्खेतको वीरेन्द्रनगरमा टिकट काउन्टरका विषयमा यातायात व्यवसायीबीच शनिबार बिहान झडप भएको छ। झडपमा २ जना घाइते भएको प्रहरीले जनाएको छ।

वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकमा रहेको भिजिट कर्णाली यातायात प्रालि र सयुक्त यातायात प्रालिका व्यवसायीबीच झडप भएको हो।

यातायात व्यवसायीको आक्रमणबाट बुलबुले काउन्टरमा रहेका भिजिट कर्णाली यातायतका कर्मचारीसमेत घाइते भएको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।

उनले भने, ‘सुर्खेतका यातायात व्यवयासी र उनीहरुले खटाएको कर्मचारीबाट हाम्रो बुलबुले चोकमा रहेको मुख्य टिकट काउन्टरमा आक्रमण भयो। आक्रमण हुँदा संरचनासहित हाम्रा कर्मचारी लोकेन्द्र शाही, गगनशाही लगायत चार जना घाइते हुनुभएको छ। बसपार्कबाट आएको यायायात व्यवसायीको हुलले आक्रमण गरेको थियो।’

यस्तै, अध्यक्ष शाहीले यातायात सञ्चालनका विषयमा कानुनी प्रक्रिया पूरा गरेर भिजिट कर्णाली यातायात प्रालिले गत पुस २४ गतेदेखि स्कार्पियो जिपबाट नागरिकहरूलाई सेवा दिइरहेको बताए। उनका अनुसार घाइतेहरुको उपचार प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा उपचार भइरहेको छ।

संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिले हतियार प्रहार गरेर आफ्ना कर्मचारीलाई घाइते बनाएको भिजिट कर्णाली यातायात प्रालिको आरोप छ। यता, संयुक्त यातायात सेवाले भने भिजिट यातायात प्रालिलाई मनोमानी तरिकाले टिकट काटेको आरोप लगाएको छ।

झडपपछि केही समय बन्द भएको रत्नराजमार्ग खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त स्थानमा प्रहरी तैनाथ गरिएको छ।