‘बजारको अनिश्चितता, कृषि लगानीमा जोखिम’ सम्बन्धि संबाद

सुर्खेत – सुर्खेतका तीन स्थानीय तहले बजारको अनिश्चितता हटाउँदै कृषिमा लगानी बढाउन जोड दिएका छन् । सुर्खेतको बराहताल गाउँपालिका, भेरीगंगा र वीरेन्द्रनगर नगरपालिकाले कृषिजन्य बस्तुको हाल बजारीकरणमा देखिएका समस्या समाधान गरी कृषिमा सरकारी तथा निजी क्षेत्रबाट लगानी बढाउनुपर्ने निश्कर्ष निकालेका हुन् ।

‘बजारको अनिश्चितता, कृषि लगानीमा जोखिम’ सम्बन्धि तीन वटै पालिकामा भएका छुट्टा टुट्टै संवाद कार्यक्रमका अवसरमा जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायले यस्तो बताएका हुन् ।

हरेक पालिकाको कृषि शाखाको समन्वय तथा एन्साब नेपालको आयोजनामा ग्रेप परियोजना अन्तर्गत संवाद कार्यक्रम गरिएको हाे । संवाद कार्यक्रमपछि कृषि तथा पशुजन्य बस्तुको बजारीकरणमा देखिएका समस्या क्रमश सुधार गर्दै लैजाने पालिकाले प्रतिबद्धता जनाएका छन् ।

यस्तै कृषिमा उत्साहीत हुनेगरी लगानी गर्ने वातावरण स्थानीय तहले सृर्जना गर्ने समेत जनाएका छन् । बिहिबार जिल्लाको बराहताल गाउँपालिकामा, शुक्रबार भेरीगंगा नगरपालिका र शनिबार वीरेन्द्रनगर नगरपालिकामा संबाद कार्यक्रम सम्पन्न भएको छ । संबाद कार्यक्रममा बोल्ने कृषकहरुले समयमै, मल, वीउ, प्रविधि र अनुदान नपाएको भन्दै सिचाँई असुविधा र जलवायू अनुकुलनमैत्री कार्यक्रम नहुनु जस्ता मुख्य समस्या रहेको गुनासो गरेका थिए ।

वीरेन्द्रनगरमा आयोजित संबाद कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनमाया ढकाललेकिसान परिचय पत्र वितरणबारे सरोकारवालासँग थप छलफल गरी अघि बढ्ने बताइन् । बजार अनिश्चितता हटाएर कृषिमा लगानी बढाउने वातावरण सबै क्षेत्रबाट सृर्जना गर्न आवश्यक रहेको भन्दै नगपालिका पनि यसमा गम्भिर भएर लाग्ने उनको प्रतिबद्धता छ । उनले भनिन्, ‘एकातिर गरिबि न्यूनिकरण लक्षित विशेष कृषि कार्यक्रम संचालन गर्न आवश्यक त छदै छ । तर किसान परिचय पत्र र व्यवसायीक कृषकको उत्पादनका आधारमा अनुदान दिन सहयोग पुग्ने भएकाले पनि किसान परिचयपत्र वितरण आवश्यक छ ।’

आयातित वस्तु घटाउन उत्पादित वस्तुको स्थानीय स्तरमै प्रयोग गर्ने बानीको विकास गर्न जरुरी रहेको नगर प्रमुख ढकालको भनाइ छ । ‘कृषि प्रधान देशमा राज्यले स्वदेशमै मल उत्पादन गर्न नसक्नु दुखद कुरा हो’ उनले भनिन्, ‘अब युवाले बाँजो जमिन छाडेर विदेश गई पठाएको रकमले घरमा भएका परिवारले विदेशबाटै आयातित समान किनेर खाने होइन । आफ्नै जमिनमा उत्पादन गरौं । स्वदेशमै पैंसा कमाउन सकिन्छ ।’

कार्यक्रममा विभिन्न कृषक समूह, कृषि उद्योग, कृषि संकलन केन्द्र तथा कृषि व्यापारीदेखि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु, उद्योग बाणिज्यसंघ, कृषि निर्देशनालय र कृषि मन्त्रालयका प्रमुख एंवम प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।