भगवान् पुकार्दै कर्णाली राजमार्गको यात्रा

कालीकोट – कर्णालीमा गाडी पुगेपछि यहाँका बासिन्दाको मनमा कम्ती हर्ष थिएन । ‘दुःख’का दिन सकिए भन्दै कर्णालीवासीले उत्सव नै मनाए । तर, राजमार्गको यात्रा यति कष्टकर छ कि(कर्णालीका दुःखका दिन सकिएकै रहेनछन् । किनभने यो मार्गमा यात्रा गर्दा भगवान् पुकार्नुपर्छ । कर्णालीको लाइफ लाइन मानिएको राजमार्गको अवस्था झन्झन् दयनीय छ ।

सडक डिभिजनले हरेक वर्ष बिग्रेको ठाउँमा (टालटुल गर्न) सडक पिच गर्छ । तर, साता दिन पनि टिक्दैन । सडक विभाग बनाउँदै जान्छ, पछाडि बिग्रँदै जान्छ । जसकारण पटक(पटक सडक अवरुद्ध हुने गर्छ । कतिपय स्थानहरूमा एक गाडीले अर्को गाडीलाई साइड दिने ठाउँ नपुग्दा घण्टौँ जाम हुन्छ । सडकमा परेका ठुल्ठूला खाल्डाहरूले सवारीसाधन चल्न निकै कठिन हुन्छ । सडकहरूमा ट्राफिक संकेत नहुँदाका हैरानी त छँदै छन् ।

कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा सधैँ उही समस्या भोग्नुपर्छ । कालीकोट नरहरिनाथ-८ का उमेश विष्ट कर्णाली राजमार्गको यात्रा बर्सेनि कष्टकर बन्ने गरेको बताउनुहुन्छ । ‘सुर्खेतबाट कालीकोट १५५ किलोमिटर सडकमा यात्रा गर्न तीन दिनसम्म लाग्छ,’ बिष्टले भन्नुभयो, ‘ठाउँ(ठाउँमा पहिरोको समस्या छ । साँघुरो सडकमा एक गाडीले अर्को गाडीलाई साइड दिन कठिन हुन्छ । हिलाम्मे सडकमा मालबाहक गाडीहरू फस्दा डोजर लगाएर निकाल्नुपर्छ । यो राजमार्गमा यात्रा गर्दा गन्तव्यमा पुग्नै मुस्किल हुन्छ ।’

जुम्ला चन्दनाथका उमेश कठायतले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि कसैको ध्यान नपुगेको बताउनुभयो । ‘हाम्रा नेताहरू यही बाटो हिँड्छन् । तर, सडकको बेहाल देख्दैनन्,’ उहाँको गुनासो छ । सरकारले ल्याउने हरेक वर्षको बजेटमा कर्णाली राजमार्गको स्तरोन्नति गरिनेछ भनिन्छ । तर, राजमार्गको अवस्था सधैँ उस्तै रहन्छ । कहिल्यै स्तरोन्नति हुँदैन । हामी त काल नआएर बाँचेका मानिस हौं । कर्णाली राजमार्गको यात्रा गर्दा कहाँनेर पो खसिन्छ भन्ने पिर मनमा बोकेर यात्रा गर्नुपर्छ ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गको सुर्खेत, कालीकोट र जुम्ला खण्डका दर्जनौं ठाउँहरूमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ । ती ठाउँमा पहिरो खस्ने समस्या छ । कतिपय स्थानमा राजमार्ग जस्तै छैनन् । ६ पांग्रे गाडीलाई साइड दिन नपुग्ने सडकमा १० पांग्रे गाडी पनि गुड्छन् । सडक पूरै खाल्डाखुल्डी र हिलाम्मे छ । कति ठाउँमा गाडी फस्दा उकास्नै दिन बित्छ । गाडीको पनि बिजोग हुने गरेको प्रहरी बताउँछ ।

कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ । कालीकोट र दैलेखको सिमाना दहिखोलादेखि जुम्लासम्म दहिखोला, गगने खोला, काले खोला, एसमोड, जिते बजार, शेरीघाट, मेयर खोला, सुनार खोला, ताडी, गल्ली, सिम्लेगाड, मोल्फा, पिली, शेराबाडा, बाली, राचुली, भिक्म, राराली लगायतका ४३ ठाउँहरूमा बर्सेनि पहिरो जाने समस्या छ । – himaliyatimes