शिव शिखर बहुउद्देश्यीय सहकारीको सम्पत्ति लिलामीबाट रोक्न माग

काठमाडौं – समस्याग्रस्तमा सूचिकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् ।

उनीहरूले सहकारीको नाममा रहेको सम्पत्ति वचतकर्ताहरूबाट संकलित रकमबाट खरिद गरेको सम्पत्ति भएको भन्दै लिलामीबाट रोक्न माग गरेका हुन् । संस्थाले विभिन्न १३ वटा बैंकबाट करिब ७ अर्ब रुपैयाँ ऋण लिएको छ ।

संस्थाको नामको सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिएको सहकारीले ऋण तिर्न नसकेपछि हाल बैंकहरूले धमाधम लिलामी प्रकिया अगाडि बढाउने तयारी गरेका छन् । सहकारीको सम्पत्ति लिलामी हुने भएपछि वचतकर्ताहरू तानवमा छन् ।

उनीहरू बैंकले लिलाम गर्न लागेको सम्पत्ति वचतकर्ताहरूको भएको भन्दै तत्काल लिलामी प्रक्रिया रोकेर उक्त सम्पत्तिलाई कुनै व्यापारी प्रतिष्ठानहरूले किन्ने र वचत रकम फिर्ता गरिदनुपर्ने माग राखेका छन् । बैंकले सबै सम्पत्ति लिलामी गरे आफूहरूको लगानी नउठ्ने उनीहरूको भनाइ छ ।

उक्त सहकारीले बचतकर्ताबाट संकलित रकमबाट सातै प्रेदेशमा ४३ वटा विभिन्न कम्पनीमार्फत लगानी गरेको छ ।