सोती घटनाको मुद्दामा आजदेखि सुनुवाइ सुरू

सुर्खेत – ६ जनाको हत्या भएको सोती घटनाको मुद्दामा आइतबारदेखि सुनुवाइ सुरू भएको छ।

रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) का न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुनुवाइ सुरू भएको हो।

आज पीडित (जाहेरवाला) को तर्फबाट सरकारी वकिलहरूले बहस गर्ने क्रम चलिरहेको रूकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।

‘पहिलो चरणमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस गर्न थाल्नुभएको छ, आज उहाँहरूको बहस सकियो भने, अर्को चरणमा प्रतिवादीको तर्फबाट बहस सुरू हुन्छ,’ कोइरालाले भने।

यो पटकको सुनुवाइ फैसला केन्द्रित भएकाले केही दिनमा घटनाको अदालती फैसला आउन सक्ने उनले बताए।

साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए।

दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।

घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।

घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रूकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।

यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो।