जाजरकोट – जिल्लाका भूकम्पप्रभावित कतिपय बस्तीमा अझै राहत पुग्न सकेको छैन।
खुला आकाशमा बसेका सर्वसाधारणलाई राहत सामग्री दिने भनिए पनि सडक पुग्ने, नेताको पहुँच भएको ठाउँमा मात्र राहत सामग्री पुग्दा अधिकांशले अझै पाउन सकेका छैनन्। त्यस्तै बारेकोट गाउँपालिका–१ धौलाकोटमा अहिले राहत सामग्री नपुग्दा हैरान भएको सर्वसाधारणले बताए।
ध्वास्त भएर भत्किएको घर मात्र नभई दरादरा भएका घरका सर्वसाधारण खुला आकाशमा बसिरहेका छन्। त्रिपालविना खुला आकाशमुनि बसिरहेका सर्वसाधारणमा ज्वरो र टाइफाइड समेत देखा परेको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए।
धौलाकोटमा भूकम्पपीडित चिसोका कारण ज्वरो र झाडापखालाजस्ता समस्याबाट प्रभावित भएको स्थानीय हरिबहादुर थापाले बताए। ‘जतिपटक माग्दा पनि गाउँपालिकाले राहत सामग्री दिइएको छैन। भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो। अहिलेसम्म त्रिपाल समेत पुगेको छैन।’ बारेकोट जिल्लाको सबै भन्दा चिसो हुने पालिका हो। बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत सामग्री पर्याप्त नहुँदा सबैलाई पुग्न नसकेको जानकारी दिए। गिरीका अनुसार अझैँ बारेकोटमा एक हजार ७०० थान त्रिपालको मात्र आवश्यक छ।
नलगाड नगरपालिका–१ देखि ७ सम्म मात्र राहत सामग्री वितरण गरिए पनि ८ देखि १३ सम्म केही पनि सामग्री नदिइएको पाइएको छ। नलगाडको ८ बारेकोट गाउँपालिकाको ८ सँग जोडिएको पालिका हो भने ९ बारेकोटको धुमा लगाएतका क्षेत्रसँग जोडिएको क्षत्र हो। नलगाडको सबै भन्दा बढी जनसंख्या भएको ८ नम्बर वडा हो । त्यहाँ हामी नेपाल नामक संस्था आएर राहत सामग्री आफूखुसी वितरण गरेर धेरै बस्ती छुटाएर फर्किएको स्थानीयवासी भीमबहादुर खत्रीले बताए। नलगाड नगरपालिकाले हचुवाको भरमा १ देखि ७ सम्मलाई बढी मात्र प्रभावित भनि निर्णय गर्दा समेत समस्य भएको छ।
अनुगमन तथा निरीक्षण नै नगरी मानवीय क्षति भएकै आधारमा अन्य वडा प्रभावित नभएको भन्दै निर्णय गर्दा आफूहरू दुस्खी भएको उनको भनाइ छ। नलगाड ८ मा कुनै पनि घर सग्लो अवस्थामा नरहेको बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीले बताए। बाहिरबाट हेर्दा सग्लो देखिए पनि बस्न योग्य नहुँदा सर्वसाधारण त्रासद रहेको उनको भनाइ छ।
आज सबैतिर पानी परेको छ। अधिकांश घर छाएको ढुंगा झरेका छन्। आकाशेपानी घरभित्र पसिरहेको छ। अब सब घर भत्किने सम्भावना बढेको खत्रीले बताए। कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दोहोरो समेत दिएको पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताइन्। नेता र कर्मचारीको घरमा राहत लुकाएको उनको आरोप छ।
सदरमुकाम खलंगामा भाडामा बस्नेलाई कसैले पनि राहत सामग्री नदिएको गुनासो गरेका छन्। राहत माग्न जाँदा घर भेटीको नाम मात्र भेटिन्छ। हामीले कसरी पाउनुरु’, बारेकोट गाउँपालिका–४ घर भइ सदरमुकाममा बस्दै आएका मालबहादुर सिंहले बताए। राहत सामग्री पहुँचको भरमा मात्र वितरण हुँदा सबैको हातमा पुग्न नसकेको आरोप लाग्दै आएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कसैको कुरा नसुनेको समेत आरोप लागेको छ।
पालिका प्रमुख र प्रमुख जिल्ला अधिकारी सुनार बीचमा राहत वितरणको विषयमा विवाद हुँदा कागजमा तोकसमेत लगाउन आनाकानी गरेको एक कर्मचारीले बताएका छन्। एकद्वार प्रणालीको नाममा पहुँचवाला व्यक्ति बाहेक अन्य कसैको कुरा प्रजिअ सुनारले नसुनेको जाजरकोटका पत्रकारको आरोप छ।
प्रजिअ सुनार भने आफूले पक्षपात नगरेको दाबी गरेका छन्। संख्यात्मक रूपमा धेरै राहत पालिकामा पठाएको भनिए पनि पीडितमाझ त्यो ४० प्रतिशत पनि नपुगेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभात चलाउनेले बताए। -thahakhabar