काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
टीकापुर नरसंहारमा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गर्नुभएको थियो ।
सर्वोच्च अदालतले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरे पनि उक्त फैसलाको पूर्ण पाठ नआउँदै कैद मिनाहा गरिएको थियो ।
चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा गत जेठ १६ गते परेको रिटमा राष्ट्रपतिको निर्णय खारेज गरी चौधरीलाई पूरै कैद भुक्तान गराउने आदेशको कडायतले माग गरेकी थिइन् ।